Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमलले तीन वर्षपछि गरे अन्तर्राष्ट्रिय गोल

काठमाडौं । घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेर भर्खरै मात्र मैदान फर्किएका विमल घर्तीमगरले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा तीन वर्षपछि वर्षपछि पहिलो गोल गरेका छन् । अफ्रिकन राष्ट्र मोरिसससँग शनिबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा विमलले गोल गरेका हुन् । दोस्रो हाफमा विमलले गरेको गोलकै कारण नेपाल १–० ले विजयी भयो ।
विमलले यसअघि अन्तिमपटक सन् २०१८ मा गोल गरेका थिए, साफ च्याम्पियनसिपमा । त्यतिबेला बंगलादेशमा भएको उक्त प्रतियोगितामा विमलले २ गोल गरेका थिए । त्यसयता उनी नेपाली टोलीमा थिएनन् । १० नम्बर जर्सी लगाएर खेल्ने २४ वर्षीय विमल कुनै समयका स्टार स्ट्राइकर हुन् । एन्फा एकेडेमीका उत्पादन विमल व्यवसायिक फुटबलमा प्रवेश गरेको केही समयमै चोटसँग जुध्नु परेको थियो । उनले नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ९ गोल गरेका छन् ।
सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता खोलेका थिए । विमलको निर्णायक भूमिकामा नेपालले सन् २०१५ मा साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् २०१६ मा बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप तथा साफ गेम्स जित्दा पनि विमल टोलीमा थिए । उनले युरोपका क्लबहरुमा पनि ट्रायल दिएका थिए ।
उनी नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने हालका राष्ट्रिय टोलीका खेलाडीमध्ये शीर्षस्थानमा छन् । अन्जन विष्ट र नवयुग श्रेष्ठले समान ७ गोल गरेका छन् । हाल राष्ट्रिय टोलीबाहिर रहेका भरत खवासको नाममा १० गोल छ ।