Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलमा प्रहरी सतर्कता बढ्यो

काठमाडौं । तस्कर सञ्जालको दोहोलो काढ्ने अभियानमा खटेको नेपाल प्रहरीको एयरपोर्ट टिमको नेतृत्व लिएका एसएसपी भीम ढकाल आफैं दुई हात उठाएर डिक्टेटर जाँचपछि एयरपोर्टको भित्री कक्ष प्रवेश गर्दा कर्मचारी र प्रहरी नै चेक जाँचमा पर्नु नौलो भएन । परिवर्तन आफैंबाट शुरु गर्नु उनको निरन्तरता हो । विमानस्थलभित्र भन्सार, अध्यागमन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वायुसेवा निगम, निजी एयरलाइन्स कम्पनीहरु र नागरिक उड्डयन प्राधिकरण रहेका छन् ।

यी संस्थाहरु आफूले प्राप्त गरेको जिम्मेवारी कार्यान्वयन गराउन निरन्तर लागेको खण्डमा विमानस्थलभित्र हुने अवैध गतिविधि नियन्त्रण हुन्छ । मलद्वारमा लुकाएर सुन भित्र्याउने र लिक्विटबाट सुनको तस्करी बढाउने गिरोहले भरसक बिदाको दिन रोज्ने गरेको पाइन्छ । तस्करहरुको यस्तो चलाखीले एयरपोर्टको सुरक्षा टिमलाई दबाव बढेको छ । बिदाको दिन सुरक्षा समूह सुस्त हुन्छ, तस्कर उम्कन सक्छन् भन्ने सोच्नु मुख्र्याइपन हो । किनकि प्रहरीले लिक्विडबाट भित्र्याइएको सुन समेत डिक्टेटरबाट पत्ता लगायो । जुन डिक्टेटरले धातुजन्य वस्तु मात्रै पहिल्याउने गर्दथ्यो । विमानस्थलको सीमा घेरा छुट्याउनका लागि रिवनदेखि डोरीसम्म भन्सार र नागरिक उड्डयन प्राधिकरणको भर पर्नुपर्ने प्रहरीको बाध्यता देखिन्छ ।

प्रहरीले सुरक्षा अनुसन्धानको जिम्मेवारी इमान्दारपूर्वक निभाउनका लागि आफ्ना जवानदेखि अधिकृतसम्मको मोबाइल फोन ड्युटी अवधिभर कमाण्डरलाई बुझाउने गर्दछन् । एरपोर्टमा निरन्तर तस्करहरु सक्रिय हुने र पुराना कर्मचारी तथा प्रहरीहरुको तिनीहरुसँग सम्बन्ध रहने हुँदा गलत नियतले तस्करहरुको प्रयोजनमा परे भने बदनाम संस्थागत हुन्छ भन्ने भयका कारण नै प्रमुख ढकालले आफ्नो टिमको ड्युटी अवधिभर मोबाइल सञ्चालनमा प्रतिबन्ध लगाएका हुन् । प्रहरीले धातुजन्य अनुसन्धानका लागि भन्सारबाट पाएको डिक्टेटरको बारेमा पनि अब सोच्नुपर्ने भएको छ । तस्करहरुले सुनलाई तरल बनाएर भित्र्याउन थालेपछि तरल पदार्थको पहिचान गर्ने मेशिनको आवश्यकता विमानस्थलमा देखिएको छ ।

एसएसपी ढकालको सक्रियता आफूले जिम्मेवारी लिएका ठाउँमा जनताको नजरमा प्रभाव पार्ने गरी नयाँ योजनाहरु लागू गरेको देखिन्छ । कोरोना महामारीको समयमा यिनै ढकालले ट्राफिक प्रहरीलाई सक्रिय बनाएर पैदलयात्रु र बसयात्रुलाई अनिवार्य माक्स प्रयोग गर्न प्रेरित गरेका थिए भने चालक र सहचालकको ड्रेस अनिवार्य बनाए । महानगरपालिको सहयोगमा चोकचोकमा डमी ट्राफिक खडा गरी सडक दुर्घटना कमी गराएका थिए । जब उनी ट्राफिक प्रमुखको जिम्मेवारीबाट हटे उनका योजनाहरु क्रमशः थन्किँदै गए । प्रहरी नेतृत्वले त्यस्ता योजनाहरुलाई निरन्तरता दिन सकेन ।

विमानस्थलको सुुरक्षा सतर्कतालाई सबल बनाउन विमानस्थल सञ्चालन विभागले फागुन ३ गते एक सूचना जारी गर्दै आन्तरिक उडानमा समेत अब यात्रुले टिकटको पिनआर कोडबाहेक यात्रुको पूर्ण विवरणसहित प्रिन्टेड कपी देखाउनुपर्ने अनिवार्य गरिएको छ । विमानस्थलसँग जोडिएका विमान कम्पनीहरुको सतर्कताले भन्सार छल्ने र तस्करी गिरोहलाई प्रहरीको अनुसन्धानले नियन्त्रण गर्न सक्दछ । तर यो जनशक्तिलाई विमानस्थलजस्तो संवेदनशील स्थानमा आवश्यक पर्ने प्राविधिक बन्दोवस्तीका सामग्रीहरु राज्यको तर्फबाट समयमा उपलब्ध गराउनु पर्ने जरुरी छ ।