Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादको उत्कर्षबीच आज नेकपा स्थायी कमिटी बैठक, ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १२ जना मात्रै

काठमाडौँ । आन्तरिक विवादले ग्रस्त सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक प्रस्तावमाथि छलफल हुने भनिएको छ ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् । पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

दाहाल–नेपाल पक्षले भने पार्टी अनिर्णयको बन्दी बन्दा बहुमतले निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् । एकताको महाधिवेशन घोषित मितिको करिब ४ महिनाअघिबाट बहुमत अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका ओलीविरूद्ध दाहाल–नेपाल पक्षले बहुमतबाट निर्णय गर्न खोजेका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिदैन । ४४ सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा १२ सदस्य मात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै उनविरूद्धको निर्णयले निरन्तरता पाउने सम्भावना छ ।


सम्बन्धित समाचार