Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विशेष रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) ले देशका सम्पूर्ण क्षेत्रमा नकारात्मक असार पुर्याउँदै गर्दा रक्त व्यवस्थापनलाई समेत प्रभावित तुल्याइरहेको वर्तमान अवस्थामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा कागेश्वरी नगरपालिकास्थित गोठाटार, मनोहरा वडा नं. ७ मा क्रमशः सङ्गम हातेमालो समाज, लायन्स क्लब अफ लर्ड बुद्ध र जेष्ट आइडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त र ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर मङ्गलबजारमा रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्ट्रलको संयुक्त आयोजनामा दुई छुट्टाछुट्टै स्थानमा विशेष रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

कागेश्वरी नगरपालिका वडा नं. ७ गोठाटार, मनोहरामा आयोजित रक्तदान कार्यक्रममा कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कागेश्वरी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जीवन थापा, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका लायन लक्ष्मीप्रसाद कट्टेल, सङ्गम हातेमालो समाजका अध्यक्ष अमृत बुढाथोकी, जेष्ट आइडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी सञ्चालक हेमबहादुर कार्की र एमजेएफ लायन मनबहादुर रोकासमेतको उपस्थिति रहेको उक्त कार्यक्रमको सल्लाहकार एवं संयोजन स्वयंसेवी रक्तदाता शैलेन्द्र रायमाझीले गरेका थिए ।

विशेष उपस्थिति जनाउने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाई सम्मान प्रदान गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाणपत्रसमेत वितरण गरेका थिए । त्यसै गरी ललितपुर मङ्गलबजारमा आयोजित रक्तदान कार्यक्रममा लायन क्लब अफ काठमाडौँ युनाइटेड सेन्ट्रलका अध्यक्ष विद्यालक्ष्मी गुभाजू, रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाजका महालक्ष्मी नगरपालिका वडा नं. ६ समितिका अध्यक्ष दशबहादुर महर्जनको उपस्थिति रहेको थियो । सो रक्तदान कार्यक्रमको सभापतित्व रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा जम्मा ५० जनाले रक्तदान गरेका थिए ।