Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वकप छनोट अन्तर्गत आज नेपालले विश्व विजेता वेस्टइन्डिजसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ। नेपाली टोलीले क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो। ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्। आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन्। नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो। जुन खेलमा नेपाल ८ विकेटले हार्‍यो। विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो। एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ। लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन्। लगातार दुई खेल हारेको अमेरिका र एक खेलमा हार भोगेको नेदरल्यान्ड अंकविहीन रुपमा तालिकाको चौथो र पाँचौँ स्थानमा छन्।