Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार उनीविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतको आदेशपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मेयर सिंहमाथि फर्जी जन्मदर्ताको आधारमा नागरिकता र राहदानी बनाएको आरोप छ। यसअघि अनुसन्धानकै क्रममा उनका स्वकीय सचिव सत्यराज घिमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पुर्जी जारी भएपछि जेठ १३ गते उनी पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। तर अदालतले त्यसबेला कार्यव्यस्तता देखाउँदै प्रक्रिया अघि बढाउन नसकेपछि उनी फर्किएका थिए।

पर्सा जिल्ला अदालतले नागरिकता तथा लिखतसम्बन्धी मुद्दामा मेयर सिंहसहित सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगन्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

आरोप अनुसार रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी देखाएर झूटो जन्मदर्ता तयार गरी नागरिकता र राहदानी बनाइएको तथा त्यसपछि विदेश पठाइएको दाबी गरिएको छ।

उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार सरकारी तथा सार्वजनिक लिखतसम्बन्धी कसुरअन्तर्गत किर्ते कागजको दफा २७६ बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ।

प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।