Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरबाट २२१ स्वास्थ्यकर्मीलाई हटाइयो

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २ सय २१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाएको छ । तीमध्ये ४४ जना चिकित्सक र नर्स गरी १ सय ४७ जना छन् । स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको अस्पतालको भनाइ छ । ठूलो मात्रामा स्वास्थ्यकर्मी हटाइएपछि सोमबारदेखि अस्पतालमा सञ्चालित ५९ बेड आईसीयूमध्ये २३ बेड बन्द भएका छन् । यसले देशभरबाट आएका बिरामी उपचार नपाएर मारमा परेका छन् । सोमबार इमर्जेन्सीको ‘आर–टु’ शय्यामा उपचाररत मकवानपुर भीमफेदीकी ४६ वर्षीया मीना गोले आईसीयू बेड अभावकै कारण इमर्जेन्सीमै छट्पटिइरहकी थिइन् । उच्च रक्तचापका कारण आइतबार इमर्जेन्सीमा भर्ना भएकी उनको उपचारका लागि आईसीयू पाउन श्रीमान्ले वीरका निर्देशकलाई हारगुहार गरे तर पाउन सकेनन् । आईसीयू विशेषज्ञ डा. रविराज श्रेष्ठले गोले जस्तै अस्पतालमा दैनिक ५–६ जना आईसीयू चाहिएका बिरामी उपचार गराउन आउने गरेको बताए । समयमा आईसीयूमा राख्न नसकेमा प्रायः बिरामीको ज्यान जानेसमेत खतरा हुन्छ,’ उनले भने । अस्पतालका अनुसार कर्मचारी कटौती भएसँगै मानव अंग प्रत्यारोपण, शल्यक्रिया, डायलसिस मात्र नभई इमर्जेन्सी सेवासमेत प्रभावित बनेको छ । वीरका निर्देशक डा. सन्तोष पौडेलले आईसीयूमा ३८ जनामध्ये २० जना, शल्यक्रियामा १२ जनामध्ये ६ जना, इमर्जेन्सीमा २३ मध्ये १६ जना स्वास्थ्यकर्मी एकैपटक अभाव देखिएको बताए । कर्मचारी अभावका कारण मिर्गौलामा खराबी देखिएका बिरामीले समयमा प्रत्यारोपण गराउन झन् गाह्रो हुने देखिएको छ, उनले भने, बढी सेवा लिन आउने युरोलोजी, ग्यास्ट्रोलोजीको सेवासमेत प्रभावित बनेको छ । वीरमा ५ सय बेडको सर्जिकल भवनसहित अस्पतालमा ९ सय ६ बेड सञ्चालनमा छ । निर्देशक डा. पौडेलले अब जनरल बेड संख्यासमेत घटाउनुपर्ने अवस्था आएको बताए । कोभिडका बेला सर्जिकल भवन सञ्चालनमा ल्याउन २०७८ असार २१ मा बसेको मन्त्रिपरिषद् बैठकले करारमा स्वास्थ्यकर्मी नियुक्त गर्ने निर्णय गरेको थियो । अहिले वीरमा पुराना दरबन्दीका स्वास्थ्यकर्मीबाहेक गत चैततिर लोक सेवा आयोगबाट पठाएका २ सय ४६ जना स्वास्थ्यकर्मीको भरमा छ । पुराना एक हजार ७८ जना छन् । स्वास्थ्य मन्त्रालयले भने अस्पताललाई करारमा कार्यरत कर्मचारी आन्तरिक स्रोतबाट राख्न भनेको थियो । तर, अस्पतालले आन्तरिक स्रोतबाट पाल्न सक्ने अवस्था नरहेको बताएको छ । अस्पतालका अनुसार करारका कर्मचारीलाई मात्र मासिक तलबभत्ता ९६ लाख रुपैयाँ आवश्यक पर्छ । तर, अस्पतालको आम्दानी गत वर्ष ५६ करोड रुपैयाँ मात्र थियो । स्वास्थ्य मन्त्रालयबाट उपकरणलगायत खरिद गर्न १ अर्ब ४३ करोड बजेट विनियोजित भएको थियो । तैपनि १५ करोड रुपैयाँ घाटा रहेको अस्पतालको भनाइ छ । यस वर्ष मन्त्रालयले ७३ करोड रुपैयाँ छुट्याएको छ । वीरका निर्देशक डा. पौडेलले मन्त्रालयले अस्पतालको दयनीय अवस्था देखेर पुनः करारमा नियुक्त गर्नेमा आशावादी रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले कोभिड महामारीलाई लक्षित गरेर नियुक्त दिएको र अहिले सेवाको औचित्य समाप्त भएकाले करारलाई निरन्तरता दिन नसकिएको बताए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोभिड अन्त्य भएको घोषणा गरिसकेका छन्, उनले भने, महामारी नै अन्त्य भइसकेपछि कोभिडको नाममा करारमा राख्न मिल्दैन । उनले अस्पतालले कर्मचारी अभावले सेवा प्रभावित भएको वैज्ञानिक र व्यावहारिक कारण देखाउन सकेमा आवश्यकताका आधारमा पुनः करारमा नियुक्त गर्न सकिने बताए । कर्मचारी हाजिर गर्ने अनि जाने प्रवृत्तिले पनि सेवा प्रभावित बनेको देखिन्छ, उनले भने ।