Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरमा एक साता ब्रेन ट्युमरको निशुल्क शल्यक्रिया

काठमाडौं । वीर अस्पतालमा आज शुक्रबारबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया हुने भएको छ। अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाका अवसरमा अर्को शुक्रबारसम्मका लागि निशुल्क शल्यक्रिया गर्न लागिएको हो। वीर अस्पतालमा हाल दैनिक ५ देखि ८ जनासम्म ट्युमरका बिरामी उपचारका लागि आउने गरेको न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा राजिव झाले जानकारी दिए। केन्द्र स्थापना भएको अवसरमा वीर अस्पतालमा एक साताभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गरिने छ। शुक्रबारदेखि अर्को शुक्रबारसम्म ब्रेन ट्युमर भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्ने छन्, डा झाले भने। डा झाका अनुसार अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा झाले बताए। उनले भने, विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको ट्युमर हो वा होइन भनेर पत्ता लागिसकेको हुन्छ। तर वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्। वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीरले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका निमित्त उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए। वीर अस्पतालको नयाँ भवनमा न्यूरो सर्जरी सेवा सार्ने तयारी भइरहेको र त्यहाँ सरेपछि शल्यक्रिया कक्ष लगायतका सेवा समेत थप हुने डा बस्नेतले जानकारी दिए। नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित सेन्टर नभएको प्राडा झाले बताए। यो केन्द्रको स्थापनापछि ब्रेन ट्युमर भएका बिरामीले एकै ठाउँमा सहज, छिटो र प्रभावकारी उपचार पाउने उनले बताए। ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरई लगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर वीर अस्पतालमै स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता छ। यो केन्द्रको स्थापनापछि बिरामीको यो समस्या समाधान हुँदै जाने डा झाको अपेक्षा छ। केन्द्रको स्थापनापछि नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक एकीकृत रुपमा राख्ने उनले बताए।


सम्बन्धित समाचार