Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य ,फलामको चिउरा चपाए सरह

काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गर्यो ।

वेस्ट इन्डिजका लागि कप्तान होपले १३२ रन बनाए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १५औं शतक हो ।

९-२ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका होपले तेस्रो विकेटका लागि ब्रान्डन किंगसँग ४६ रन र चौथो विकेटका लागि निकोलस पुरनसँग २१६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई बलियो अवस्थामा ल्याएका थिए ।

होपसँग दोहोरो शतकीय साझेदारी गरेका पुरनले पनि शतक बनाए । पुरनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो ।

पुरनले पछिल्लोपटक सन् २०१९ को एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए । त्यसयता ११ अर्धशतक बनाए पनि पुरनले त्यसलाई शतकमा परिणत गर्न सकेका थिएनन् ।

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए । पुरन ५४ रनमा हुँदा पनि आसिफले पुनः क्याच छुटाएपछि उनले दोस्रोपटक जीवनदान पाएका थिए ।

ब्रान्डन किंगले ३२ रन जोड्दा रोभमन पावेलले २९ र जासन होल्डरले अविजित १६ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले तीनै विकेट अन्तिम ओभरमा लिए । १० ओभर बलिङ गरेका ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी एक-एक विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो । छनोटमा नेपालको यो तेस्रो खेल हो ।

नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

 


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल