Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शनिबार नेकपाको सचिवालय बैठक

काठमाडौं । सरकारले ल्याएका विधेयकहरुको चौतर्फी विरोध उठिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गरिसकेपछि दुबै नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन् । दुई नेताबीचको छलफल करिब २ घण्टासम्म चलेको थियो । छलफलको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । त्यसपछि केहीबेर राष्ट्रिय राजनीतिक परिस्थितिबारे दुई अध्यक्षबीच कुराकानी भएको थियो । दुई नेताबीचको छलफलमा आगामी शनिबार सचिवालयको बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो । बुधबार बालुवाटारमा भएको दुई नेतावीचको छलफलमा अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका थाती रहेका कामहरुको टुंगो लगाउन सचिलावय बैठक र स्थायी कमिटी बैठक बोलाउने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सांगठानिक एकताको टुंगो लगानुपूर्व राजनीतिक प्रतिवेदनमाथिको छलफल टुंग्याउनु उपयुक्त हुने बताएपछि शनिबार बस्ने बैठकमा सांगठानिक एकता भन्दा पहिले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो । पूर्वएमाले र पूर्वमाओवादीवीच पार्टी एकता हुने क्रममा कार्यदलले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन अहिलेसम्म प्रकाशित हुन सकेको छैन । अध्यक्षद्वयले भाषा मिलाएर प्रकाशन गर्ने गत स्थायी कमिटीको बैठकले भनेता पनि अहिलेसम्म त्यसमा प्रगति भएको छैन । अन्तरिम राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद(जबज) लाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विवाद रहेकाले यसको अन्तिम टुंगो लाग्न सकेको छैन ।