Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार

काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्। सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन्।
मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाएका थिए।
यसअघि आजै गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजहरूलाई बुधबारदेखि कारबाही थाल्ने निर्णय गरेको थियो।
गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित रहेको बैठकले कारबाहीको निर्णय गरेपछि मन्त्री पोखरेलले कलेज संचालकहरुलाई यसबारे जानकारी दिएका हुन्।
सरकारले एमबिबिएस, बिपीएच, नर्सिङ, बिडिएस, बिएमएलटी, बिएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ। तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्।


सम्बन्धित समाचार