Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका १५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका नेताहरु जिल्ला पुगेर गतिविधि गर्न थालेका छन्। जिल्ला, क्षेत्रीय सभापति, महासमिति सदस्य र केन्द्रीय सदस्यसँग भेटघाट बाक्लो बनाएका छन्। आक्रामक प्रचार गरिरहेका नेतामा पर्छन्– शेखर कोइराला। १४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका उनले १५ औँ महाधिवेशनका लागि तयारी गरिरहेको उनी निकट बताउँछन्।आफ्नै समूहबाट महामन्त्री निर्वाचित भएका गगन थापाले पनि सभापतिमा तयारी गरेपछि कोइरालाले आफ्नो रणनीति फेरबदल गरेका छन्। पार्टीका सबै पक्ष र समूहलाई समेट्ने योजनासाथ काम गरिरहेको नेताहरू बताउँछन्। २०८२ भित्र महाधिवेशन सम्पन्न गर्न उनले सभापति देउवालाई दबाब पनि दिएका छन्। कांग्रेसमा सभापति देउवा समूह बलियो छ। त्यसपछि कोइराला नै छन्। तर, कोइराला परिवारमा पनि शेखर, शशांक र सुजाता एकै ठाउँमा देखिएका छैनन्। शशांकले आफैँ उठ्ने बताइरहेका छन्। यद्यपि, उनको आफ्नै समूह देखिँदैन। गिरिजाप्रसाद कोइरालाकी छोरी भएकोले सुजातासँग केही नेता छन्। जसले महाधिवेशनमा केही भरथेग गर्न सक्छन्। महामन्त्री थापाको आफ्नै समूह छ, त्यसमाथि देउवाकै साथ लिएर सभापति उठ्ने उनको योजना देखिन्छ। त्यसकै लागि उनले कोइराला समूह छोडेका छन्। तर, गगनलाई शेखरकै पक्षबाट उठाउन केही नेताले जोडबल गरिरहेका छन्। यी सबै पार्टीभित्रको अंकगणित विश्लेषण गरिरहेका कोइराला यसपटक हार टार्नेगरी महाधिवेशन प्रचार–प्रसारमा रहेको उनी निकटस्थहरूको भनाइ छ। त्यसअनुसार उनले १४ औँ महाधिवेशनमा आफ्नो पक्षमा रहेर साथ दिएका नेताबाहेक अन्य समूहतिर पनि आँखा लगाइरहेका छन्। निकटहरूका अनुसार देउवा प्यानलकै केही पदाधिकारी कोइरालासँग नियमित सम्पर्कमा छन्। चुनावमा पाएको ४० प्रतिशत मतले हौसिएका कोइरालाले त्यही बेला १५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका थिए। तर, आफ्नै समूहबाट महामन्त्री बनेका थापाले पनि सभापति उठ्ने सार्वजनिक गरेपछि कोइराला जिल्ला दौडमा निस्किएका हुन्। यसपटक उनी ३७ जिल्लाका विभिन्न कार्यक्रममा पुगिसकेका छन्। यस्तै, काठमाडौँमा रहेका बेला पनि शुभेच्छुक र भातृ संस्थाको कार्यक्रममा उनी पुगेका छन्। कांग्रेस–एमाले गठबन्धनले जनताको पक्षमा काम गर्न नसकेको, दुई प्रतिस्पर्धी र ठूला दल मिलेर पनि जनतामा आशा जगाउन नसकेको टिप्पणी उनले गरिरहेका छन्। सभापति देउवालाई पनि नचिढ्याउने उनको योजना देखिन्छ। सोही कारण सरकारको आलोचना गरे पनि देउवाको विपक्षमा उनले प्रतिक्रिया नजनाएको कोइरालाका पक्षीय नेता दाबी गर्छन्। देउवा समूह बलियो भएको ठाउँ र कोइराला कमजोर भएका ठाउँ हेरेर उनले कार्यक्रम गर्ने उनीहरू बताउँछन्।
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल