Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर आफैं अघि बढेपछि अप्ठ्यारोमा गगन

काठमाडौं । आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका काँग्रेस महामन्त्री गगन थापालाई अप्ठ्यारो स्थिति आइलागेको छ । शेखर कोइराला समूहमा लागेर महामन्त्री भएका थापा अहिले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् तर उनका नेता शेखर नै मैदानमा उत्रिएपछि गगनका लागि महंगो पर्ने देखिएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुटेका छन् । सो समूहबाट यसअघि नै महामन्त्री गगनकुमार थापाले दलको नेतामा उठने घोषणा गरिसकेका छन् । तर, कोइरालाले थापालाई सघाउनेबारे केही बोलेका थिएनन् । पछिल्लो समय आफूनिकट नेताहरुसँगको सघन छलफलपछि कोइराला दलको नेताको लागि आँफै मैदानमा उत्रिने तयारीका साथ अघि बढेका छन् । यता, थापाले भने आफूले दलको नेतामा उठ्ने भनेर चुनावअघि नै घोषणा गरेकोले कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् । संस्थापनइतर समूह भनेर चिनिने कोइराला थापा समूहबाट नै दलको नेतामा दुई जनाको उम्मेदवारी पर्ने निश्चित् भएपछि सो समूहका नेताहरु यतिवेला चिन्तामा छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा उठ्ने छन् । देउवा दलको नेता बन्नेमा ढुक्क छन् । कोइराला पक्षका प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद डा। चन्द्र भण्डारीले पनि दलको नेतामा देउवाले नै जित्ने घोषणा गरिसकेका छन् । अधिकांश सांसद देउवानिकट भएकोले पनि दलको नेता बन्न उनलाई सहज हुने अनुमान छ । कोइराला पक्षमा भने दलको नेतामा साझा उम्मेदवार पनि नहुने भएपछि अब यो समूह अस्तित्वमा रहनेबारे पनि प्रश्न उठ्न थालेको छ । योबीचमा थापाले कोइरालासँग एक्लाएक्लै भेटवार्ता गरेर दलको नेतामा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, थापाको प्रस्तावबारे कोइरालाले कुनै जवाफ दिएका थिएनन् । कोइराला आँफैले भने अब थापासँग भेटेर सहयोग माग्ने तयारी गरेको स्रोतको दाबी छ ।