Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संगीतका लागि साधना आवश्यक छ

नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्ना क्रियशनमार्फत लाखौ स्रोता÷दर्शकको मन जित्न सफल हुनुहुन्छ ओमप्रकाश राई । राईले नेपाली, हिन्दी, भोजपुरी लगायतका गीतमा सङ्गीत भर्नुका साथै स्वर दिनुभएको छ । उहाँले दुई दर्जन जति हिन्दी गीत र एक दर्जन जति भोजपुरी गीतमा सङ्गीत भर्नु भएको छ भने दुई हजार भन्दा बढी नेपाली गीतमा सङ्गीत गर्नुभएको छ । जीवन र सङ्गीत एक अर्काका परिपुरक हुन् भन्ने मान्यता राख्ने राई आफू सायद गीत सङ्गीतका लागि नै जन्मिएको बताउनुहुन्छ । अलिकति आफ्ना लागि, व्यवसायिक भएकाले जसले ल्याउनु हुन्छ उहाँका लागि, अलि–अलि माया गरिदिनेका लागि अनि अनगिन्ती आफ्नो राष्ट्रका लागि आफ्ना सिर्जना भएको बताउनुहुने राईसँग ताजा खबरका लागि गरिएको कुराकानीको संक्षिप्त अशंः–

० यतिवेला के गर्दै हुनुहुन्छ ?
– म गीत सङ्गीतलाई नै जन्मिएको जस्तो लाग्छ । त्यसैसँग सम्बन्धित काममा नै आफूलाई हरेक समय सक्रिय राख्दै आएको छ । यतिवेला केही नयाँ नयाँ सिर्जनामा पनि व्यस्त छु ।

० निक्कै ब्यस्त हुनुहुन्छ ?
– अ व्यस्त भन्दा पनि मेरा कार्यमा सिर्जनाका कार्यमा संलग्न भइरहेको छु । गीत सङ्गीतमै ब्यस्त हुनुको मज्जा अर्कै छ । सबैभन्दा ठूलो कुरा मेरो यो क्षेत्रमा यो अवधिमा यो क्षेत्रका सबैले मलाई आरामगर्ने मौका दिनुभएको छैन यसमा म आफूलाई भाग्यमानी ठान्दछु ।

० केही गीतमा यहाँले स्वर पनि दिनुभएको छ । कहिले देखि हुनुहुन्छ यो क्षेत्रमा ?
– मैले सङ्गीत भरेका थुप्रै गीत रहेका छन् । सङ्गीतकारका रूपमा हजारौ गीत स्रोता÷दर्शकमाझ आएका छन् भने मेरो स्वरमा तीन दर्जन जति गीत रहेका छन् । म २०४८ सालदेखि गीत सङ्गीत क्षेत्रमा निरन्तर छु ।

० कसरी आउनुभयो गीत सङ्गीतको क्षेत्रमा ?
– मैले माथि पनि भने मलाई के लाग्छ भने मेरो जन्म नै गीत सङ्गीतका लागि भएको हो । मेरो सानैदेखिको लगाव रह्यो यो क्षेत्र । फेरि इच्छा र रहरले मात्र नहुँदो रहेछ । यसका लागि साधना आवश्यक पर्दो रहेछ ।

० यो क्षेत्रमा व्यवसायिक रूपमा आउनुभन्दा अघि प्रशिक्षण पनि लिनुभयो कि ? 
– लिए नि । मेरो लगाव त छदै थियो । तर, त्यसलाई निखारनका लागि मलाई यस सम्बन्धि अध्ययन गर्नु थियो । त्यसैले मैले इलाहावादमा सङ्गीतको अध्ययन गरे ।

० यहाँ प्रशिक्षकका रूपमा रहनुभएको छ यतिवेला ?
– हो, मैले आफूले जानेको ज्ञानलाई सबैलाई बाडौ भन्ने हतुले सिकाउन थाले । इलाहावादमा सङ्गीत सिकेर आएपछि सुरुमा धरानमा आएर आफ्नै विद्यालय खोलेर प्रशिक्षणको कार्य गरे । पछि काठमाडौं आएपछि पनि यसलाई निरन्तरता दिएको छु । हामीले स्टुडियो पनि सञ्चालनमा ल्याएका छौ । हामीले ओसिएन रकेर्डिङ सञ्चालनमा ल्याएका छौ ।

० हुनत यहाँका थुप्रै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् । कति जति गीत स्रोता÷दर्शकमाझ ल्याउनुभएको छ ?
– मैले सङ्गीतकारका रूपमा हजारौ गीत स्रोता÷दर्शकमाझ पस्किएको छु । मेरो स्वरमा पनि केही गीत रहेका छन् । मेरो स्वरमा यस्तै तीन दर्जन जति गीत छन् ।

० यहाँले नेपाल बाहिरका हिन्दी र भोजपुरी गीत पनि रहेका छन् होइन ?
– मलाई के लाग्छ भने गीत सङ्गीतलाई कुनै सीमाले बाध्न सक्दैन । म जुनसुकै भाषाको गीतमा पनि सङ्गीत भर्न सक्छु भन्ने लाग्छ । मैले हिन्दी, भोजपुरी गीतमा पनि सङ्गीत दिएको छु । यस्तै दुई दर्जन जति हिन्दी गीत र एक दर्जन जति भोजपुरी गीतमा सङ्गीत गरेको छु । नेपाली गीत दुई हजार भन्दा बढीमा सङ्गीत रहेको छ ।

० यहाँका केही लोकप्रिय एल्वमहरूको नाम लिनुपर्दा ?
– थुप्रै छन् । तरपनि केहीको नामलिनु पर्दा ‘प्रिती’, ‘स्वीकार’, ‘आकाश’, ‘परिधी’, ‘मुर्छना–२’, ‘लाली’, ‘भावना’, ‘निशानी–१’, ‘यात्रा’, ‘तिम्रो प्रितीमा’, ‘मेरी तनाई (हिन्दी)’, ‘सफर ए जिन्दगी –हिन्दी’, ‘चादका टुक्रा (भोजपुरी)’, ‘सुसन’, ‘भुल्न खोजे’, ‘यादमा’, ‘मेराी तनाई–२’ लगायतका छन् ।

० केही लोकप्रिय गीतको नाम लिनुपर्दा ?
– मलाई के लाग्छ भने एउटा सर्जकलाई आफ्ना सबै सिर्जना उत्तिकै मनपर्छन् । तरपनि तपाईंले भनेजस्तै केहीको नाम लिनुपर्दा ‘को रुदैन होला’, ‘विर्सु भन्छु निष्ठुरी’, ‘किन फुट्यो मन’, ‘दुःखै दुःखको जीवन मेरो’, ‘प्रिती फूल्ने फूलवारीमा’, ‘आँखाभित्र’, ‘माया निष्ठुरी’, ‘डडेलो खायो’, ‘सम्झना त्यो मधुरो मधुरो’, ‘नासो देऊ मलाई’, ‘खोइ के बस्नु यो शहरमा’, ‘फाँटी जाने रुमाल’, ‘भुल्न खोजे तिमीलाई’ लगायतका थुप्रै रहेका छन् ।

० यहाँको सङ्गीत रहेका गीतमा क–कसले स्वर दिनुभएको छ ?
– मैले सङ्गीत भरेका गीतमा देशका प्रयाः जसो नयाँ र पुराना गायक गायिकाले स्वर दिनुभएको छ । यम बराल, रामकृष्ण ढकाल, जगदिस समाल, राजेशपायल राई, मेलिना राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, आनन्द कार्की, स्वरूपराज आचार्य, प्रविन भेटवाल, कुवेर राई, सुरेशकुमार, दीपक लिम्बु, मौसमी गुरुङलगायत गायक गायिकाको स्वरमा रहेका छन् ।

० चलचित्रका गीतमा पनि यहाँको सङ्गीत रहेको छ ?
– छ, यस्तै आधा दर्जन भन्दा बढी चलचित्रमा मैले सङ्गीत गरेको छु ।

० कसका लागि सिर्जना गर्नुहुन्छ यहाँ ?
– अलिकति आफ्ना लागि, व्यवसायिक भएकाले जसले ल्याउनु हुन्छ उहाँका लागि, अलि–अलि माया गरिदिनेका लागि अनि अनगिन्ती आफ्नो राष्ट्रका लागि ।

० यहाँले के खोज्नुहुन्छ सिर्जनामा ?
– म जहिले पनि चोखो विषयहरूको खोजी गर्छु । अरुले याद नगरेका स–साना लाग्ने तर अनुपम कुराहरू प्रशस्त छन् हामीसित ।

० नेपाली सुगम गीत सङ्गीतलाई कसरी लिनुहुन्छ ?
– हामीले सुगम सङ्गीतलाई आधुनिक गीत सङ्गीतको रूपमा बुझने गर्दछौ । नेपाली गीत सङ्गीतको प्रारम्भिक कालदेखि अहिले सम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतार चढावहरू आएको देखिन्छ । हुनत हामिकहाँ लोक गीत, शास्त्रिय सङ्गीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानिय गीतहरूको पनि त्यतिकै महत्व राख्दछन् र छ । तथापी सुगम सङ्गीतको आफ्नै प्रकारको महत्व र अस्तित्व रही आएको छ । नेपाली आधुनिक गीत सङ्गीतमा मित्रसेनदेखि लिएर हेर्दा रानु देवी, मेलवा देवी, हरिप्रसाद जस्ता नामहरू लिइन्छ । प्रत्तद गायन देखि आजको डिजिटल युग सम्ममा हजारौं गायक गायिकाले नेपाली गीत सङ्गीतमा आफ्नो जीवन व्यतित गरिसकेका छन् । छिमेकी देश भारतको गीत सङ्गीतले हाम्रो सुगम सङ्गीतलाई प्रभाव पारेको देखिएता पनि हाम्रो सुगम गीत सङ्गीतको आफ्नै अस्तित्व र फरक पहिचान रही आएको छ । नेपाली गीत सङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मीठा र सशक्त स्वरका धनी गायक–गायिकाहरू यस क्षेत्रले पायो । नेपाली गीत सङ्गीतको राजमार्ग फराकिलो हुँदै अगाडि बढिरहेको छ ।

० अहिलेको नेपाली गीत सङ्गीतको विस्तारलाई कसरी लिनुहुन्छ ?
– अहिले नेपाली गीतसङ्गीत एकदम विस्तारित भइरहेको छ । विसं.२०५० सालमा ट्रयाक सिष्टम भित्रिएपछि सङ्गीतमा नयाँ मोड आएको देखिन्छ । पहिला प्रत्यक्ष अर्थात लाइभ गाइन्थ्यो । ट्रयाक सिष्टम भएपछि अहिले धेरै सजिलो भएको छ । ट्रयाक सिष्टम आएपछि पटकपटक एउटै गीतलाई गाउन थालियो । पहिला सीमित कलाकारहरू थिए । अहिले त्यो संख्या निक्कै धेरै छ । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ ।

० जीवन र सङ्गीतलाई कसरी बुझ्ने ?
– एकदमै राम्रो प्रश्न । जीवन र सङ्गीत एक अर्काका परिपुरक हुन् । जस्तै भन्छौ नी कस्तो सुर खुसकेको मान्छे ? कस्तो ताल नभएको मान्छे ? कस्तो बेसुरको कुरा गर्छ भन्ने गरिन्छ । त्यसैले जीवनसँग गीत सङ्गीत जोडिएको छ । जीवन भनेकै सङ्गीत हो र सङ्गीत भनेकै जीवन हो । सभ्यताको उषा कालदेखि नै सायद मान्छेहरू गुनगुनाउथे होला । सङ्गीतको विन्दू ध्वनीसँग सम्बन्धित हुन्छ भनिन्छ, जसलाई शास्त्रले नाद भनेको पाइन्छ । संसारमा गीत सङ्गीत मन नपर्ने को नै हुन्छ होला र !

० अन्त्यमा केही भन्नु छ ?
– मैले आफ्ना कार्यलाई निरन्तरता दिइरहेको छु । आफूले पाएको भनेको सम्मान र स्रोताको माया हो । स्रोताको अपार मायाले नै जीवन यसैमा बिताउन पाएकोमा आनन्द लागेको छ ।