Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। भावी प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाहले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट बनाउने विषयमाथि छलफल थालेका छन्। एकलौटी सरकार गठन गर्ने जनादेश पाएको रास्वपाले नयाँ अभ्यास अन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेको नेताहरू बताउँछन्। उनी निकट केही सांसदहरूले नेपालखबरसँग यसको पुष्टि गरेका छन्। तर, त्यसरी बनाइएका मन्त्री संविधान अनुसार ६ महिनाभन्दा लामो समय पदमा रहन पाउँदैनन्। लामो समय मन्त्रीमा कायम राख्न संविधान संशोधन गर्नुपर्ने हुन्छ। यसबारे पनि बालेन जानकार छन्। यदि ६ महिनाभित्रै संविधान संशोधन गराउन सके विज्ञ मन्त्री पदमै रहने र सरकारले राम्रोसँग काम गर्न सक्ने बालेनको बुझाइ छ। तर, प्रतिनिधि सभामा १८२ सांसद भए पनि रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन। त्यस्तो अवस्थामा उसलाई संविधान संशोधनका लागि अन्य दलले साथ दिनुपर्ने हुन्छ। त्यही भएर ६ महिनाभित्र संविधान संशोधन गर्न सकिने–नसकिने र त्यसमा पर्नसक्ने जोखिमबारे बालेन सचेत छन्। रास्वपाले चुनावका लागि तयार पारेको वाचापत्रमा पनि विज्ञ मन्त्री बनाउे उल्लेख गरेको थियो। रास्वपाका नेता शिशिर खनाल तत्काल विज्ञ मन्त्री बनाउन सम्भव नभएको बताउँछन्। फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। सरकार बनाउन झण्डै दुई तिहाइ बहुमत प्राप्त भएकोले रास्वपाले यही बेला धेरै ठाउँमा सुधार गर्ने मनसाय बनाएको छ। नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन। यद्यपि, पूर्वसहमति अनुसार प्रधानमन्त्री आफैँ बन्ने भएकोले बालेनले आफ्नो टिममा ककसलाई राख्ने भन्नेबारे अध्ययन जारी रहेको निकटस्थहरू बताउँछन्। यसपटक शक्तिशाली प्रधानमन्त्री बन्ने भएकोले सोही अनुसार काम गर्नुपर्ने दबाब बालेन र रास्वपालाई छ। यदि बाह्य विज्ञ ल्याउने योजना कानुनी र राजनीतिक जटिलताका कारण सफल नभए यसको विकल्पका रुपमा रास्वपाबाट प्रत्यक्षतर्फ निर्वाचित विभिन्न क्षेत्रका विज्ञ सांसदहरूलाई मन्त्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ। रास्वपाभित्र पार्टीले हस्तक्षेप नगरी प्रधानमन्त्रीले नै मन्त्री छान्नुपर्ने बहस हुन थालेको छ। सांसदहरू सस्मित पोखरेल, गणेश कार्की, राजुनाथ पाण्डे लगायतले बालेनले प्रधानमन्त्री भएपछि आफैँ मन्त्रीहरूको टिम बनाउने बताएका छन्। रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच छलफल भएलगत्तै यो विषय टुंगो लाग्ने नेताहरू बताउँछन्। स्वास्थ्यमा समस्या देखिएपछि लामिछाने आराम गरिरहेका छन्। बालेनले सांसदहरुसँग भेटवार्ता गरिरहेका छन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल