Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा जुटेको छ । नयाँ वानेश्वर स्थित पार्टीको संसदीय दलको कार्यालयमा भेला भएर नेताहरू संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटेका हुन् । आन्तरिक छलफलमा जुट्नु अगाडि रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सभामुखको सचिवालयका अनुसार सभामुखले बिहान सरकारी निवास बालुवाटारमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएका थिए । सभामुखको सचिवालयका अनुसार भेटमा सभामुखले भनेका छन्, दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।तथापि, सभामुखले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको बताएका छन् । गम्भीर भएकै कारणले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको बताएका छन् । तर, अब रोक्ने अवस्था नरहेको जवाफ रास्वपालाई सभामुखको छ । संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्ने उनले बताएका छन् । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्ने दबाबमा रहेको सभामुखले बताएका छन् । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं, रास्वपालाई सभामुखको आग्रह छ । रास्वपाका कार्यवाहक सभापति अर्याल र प्रमुख सचेतक परियारले आफूहरुले उठाएका माग गम्भीर रहेको दोहोर्‍याएका छन् । ‘जनताको वास्वविक समस्या उठाएका छौं । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो, उनीहरूले सभामुखलाई भनेका छन् । सभामुखलाई उनीहरूले भनेका छन्, अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं । रास्वपाका नेताद्वय अर्याल र परियारसँग सभामुखले करिब एक घण्टा छलफल गरेका थिए । तथापि, संसद्को अवरोध खुल्ने वातावरण नबनेको नेताहरू बताउँछन् ।
सभामुखसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।


सम्बन्धित समाचार