Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद अधिवेशन छाडेर अध्यादेशको खेलोमेलो नगर्न काँग्रेसको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

त्यसैगरी संसद्को अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँडको भनाइ छ । बैठकले संसद् अधिवेशन अविलम्ब बोलाउन समेत माग गरेको बताए ।

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरुलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।

यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय समेत बैठकले गरेको बताए । उखु किसानको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने पनि उनले बताए ।

बैठकले केही समयअघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दुःखद घटना भन्दै भर्त्सना गरेको छ । यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषी उपर कारबाही गर्न बैठकले माग गरेको छ । नेता खाँडले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको भन्दै निरंकुश सोचले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने समेत बताए ।


सम्बन्धित समाचार