Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद खुलाउन सभामुखको पहल

काठमाडौं । देशले प्राकृतिक विपत्तिको सामना गरिरहेको बेला एक ढिक्का हुनुपर्ने संसद स्थगित छ । सर्लाहीमा कुमार पौडेलको मृत्युको विषयलाई लिएर गरिएको अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख महराले जानकारी दिए । आज २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको महराले बताए ।
प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमै १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको र आजै समस्या समाधानका लागि पहल हुने दाबी गरिएको छ ।
सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले बुधबार पनि सदनको अवरोध गरेका थिए । प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ । पौडेलको मृत्यु मुठभेडमा नभई हत्या भएको काँग्रेसको दाबी छ । गृहमन्त्री थापाले भने दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको सदनमा जानकारी दिनुभएको थियो । गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेसले अवरोध जारी राखेको हो ।
सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन् । नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ । दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उनले बताए ।
समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहेका सभामुख महराले आजको सर्वदलीय बैठकबाट निर्णय लिने तयारी गरेका छन् । बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताएका थिए ।