Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद छिर्ने जबर्जस्त प्रयास

काठमाडौं । एक पटक जनताले अविश्वास गर्नुको अर्थ पाँच वर्षका लागि संसद बन्न अयोग्य हुनु हो । तर मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौंबाट एकसाथ पराजित नेपाल प्रहरीका दुई पूर्वहाकिम वैशाख १० को उपचुनाव लड्ने भएका छन्। पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र पूर्व नायव महानिरीक्षक (डीआईजी) रमेश खरेल उपनिर्वाचनमा उम्मेदवार बन्ने पक्का भएको हो। खनाल नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट र खरेल बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने निर्णय भएको छ। सोमबार दुवैले आ आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गर्दैछन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा खनाल काठमाडौं ६ बाट र खरेल काठमाडौं १ बाट पराजित भएका थिए। त्यतिबेला पूर्व आईजीपी खनाल एमालेबाटै उम्मेदवार बन्दा पूर्व डीआईजी खरेल भने आफ्नै नेतृत्वको सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए। खनालको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका थिए। खरेलको क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चुनिए। रमेश खरेलले भने प्रतिस्पर्धात्मक मत समेत पाएनन्। यो क्षेत्रमा उनले पाँचौँ मत ल्याए। निर्वाचित सिंहले ७ हजार १४३ मत पाउँदा खरेलले ३ हजार १२४ मत मात्रै पाए। खरेलभन्दा बढी मत राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र एमालेका किरण पौडेलले पाए। एमाले उम्मेदवार सर्वेन्द्र खनाल काठमाडौं ६ का निकटतम प्रतिस्पर्धी हुन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले भन्दा झण्डै आधा कम मत पाएका थिए। १४ हजार २२१ मत ल्याएर शिशिर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९१७ मत पाएका थिए।
५ महिनाअघि एउटै जिल्लाका फरक निर्वाचन क्षेत्रबाट पराजित भएका पूर्व प्रहरी यसपटक फरक जिल्लाबाट चुनाव लड्दैछन्। खरेल र खनाल एउटै ब्याचका प्रहरी हुन्। दोस्रो पटक पनि दुवैका लागि संसद प्रवेश भने सहज देखिएको छैन।
रमेश खरेल निर्वाचन क्षेत्रसँगै पार्टी पनि परिवर्तन गरेर उपचुनाव लड्दैछन्। तर यो क्षेत्रमा उनी प्रवेश गरेको पार्टी रास्वपाको पनि कमजोर इलाका हो। गएको निर्वाचनमा यहाँबाट रास्वपाले उम्मेदवार नै उठाएको थिएन। बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहाय प्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए। उनलाई एमालेको पनि समर्थन थियो। तर यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ उपचुनावको मिति तय भएको हो।
मंसिरको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का शिवचन्द्रप्रसाद कुशवाहा १३ हजार ४६८ मत ल्याएका थिए। कुसहवालाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० पार्टीको पनि साथ थियो। यसअघिका उम्मेदवार र गठबन्धन यहाँ बदलिएका छन्। विजयी जसपाका उम्मेदवारलाई यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत साथ छ।