Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सङ्खुवासभा हत्याकाण्ड अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलमा !

काठमाण्डौ । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो । प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सिआइबीका डिएसपी रुगम कुँवर नेतृत्वको ३ जनाको अनुसन्धान टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । उनीहरू मंगलबार साँझ ६ बजेसम्ममा घटनास्थल पुग्ने र अनुसन्धान सुरु गर्ने बिसीले बताएका छन् ।

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका १, उम्लिङमा सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । स्थानीय वृद्ध बौद्धमान कार्कीकी श्रीमती पार्वता कार्की ८४ वर्ष, छोरा तेजबहादुर कार्की ५२, बुहारी कमला कार्की ५२, नातिनी बुहारी रञ्जना कार्की ३२, पनाति विपिन कार्की ८ र पनातिनी गोमा कार्की ५ गरी ६ जनाको हत्या भएको थियो । सो घटनाको अनुसन्धानका लागि यसअघि नै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, प्रदेश १ प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोली घटनास्थल पुगिसकेको छ ।

घटनास्थलमा रहेका प्रहरी अधिकारीका अनुसार घटना लुटपाटको उद्देश्यबाट नभएको अनुमान गरिएको छ । घरमा रहेको दराजहरू नफोडिएको तथा सुनका गहनाहरू पनि सुरक्षित नै रहेको कारण घटना लुटपाटको उद्देश्यबाट नभएको प्रहरीको अनुमान छ । यद्यपि थप अनुसन्धानपछि नै घटनाबारे थप जानकारी प्राप्त हुने ती अधिकारीले बताएका छन् ।