Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पुराना ठूला नेतालाई यस पटक युवाको निशानाबाट बच्न ठूलै चुनौती देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी निर्वाचनको लागि विभिन्न क्षेत्रबाट सिफारिस भएर आउने क्रम चलिरहेको छ। गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका प्रचण्ड फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने अझै निश्चित भइसकेको छैन। प्रचण्डलाई उम्मेदवार सिफारिस अहिलेसम्म नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १ रोल्पा, कैलाली ३, काभ्रे र कास्की १ बाट भएका छन्। हिजो मात्रै पनि रुकुम (पूर्व) बाट उम्मेदवार सिफारिस भएका कैलाश मल्लसहित ७३ नेता कार्यकर्ताले रुकुम पूर्वमा प्रचण्डलाई उम्मेदवार बनाउन माग गर्दै पेरिसडाँडामा मागपत्र बुझाए। यसअघि सिफारिस भएका उम्मेदवार बदर गरी पार्टी संयोजक प्रचण्डको नाम सिफारिस गर्न उनीहरूको माग छ। रुकुम पूर्व नेकपा (तत्कालीन माओवादी) को गढ मानिन्छ। गएको निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए। निर्वाचनको खोजीमा रहेका प्रचण्डलाई सहज जितको लागि यो क्षेत्र विकल्प हुनसक्ने नेताहरूले सुझाएका छन्। रुकुम ऐतिहासिक रूपमा दश वर्षे जनयुद्धको केन्द्र रहेको र सहिद, घाइते तथा सङ्घर्षशील जनताको भूमिका रूपमा चिनिने जिल्ला भए पनि २०६४ सालपछि निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको भन्दै प्रचण्डलाई प्रतिनिधि बनाउनुपर्ने त्यहाँको नेताहरूको माग छ। नेकपाको प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक प्रचण्डको निर्वाचन क्षेत्रबारे छलफल भइरहेको बताए। अहिलेसम्म कहाँबाट उठ्ने भन्ने तय नभएको उनले बताए। उनले भने, सिफारिस भएर विभिन्न क्षेत्रबाट आइरहेको छ। अहिलेसम्म कुन क्षेत्रबाट उठ्ने तय भएको छैन। छलफलमै हुनहुन्छ। अर्का नेता लीलामणि पोखरेलले पनि संयोजक प्रचण्डसहित अन्य कुनै शीर्ष नेताहरूले आफू यो क्षेत्रबाट उठ्ने नभनेको बताए। उनले भने, निर्वाचन क्षेत्रबारे बिस्तारै छलफल होला। अहिलेसम्म कहाँबाट लड्ने भन्ने कुरा उहाँले मात्रै होइन, अरू नेताहरूले पनि भन्नुभएको छैन। प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव लडेका छैनन्। उनले ०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट जितेका थिए। ०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं १० र सिराहा ३ बाट उठेको भए पनि काठमाडौंमा हारेर सिराहाबाट जितेका थिए। ०७४ को निर्वाचनमा पुग्दा पार्टीलाई एमालेमा गाभेर चितवन ३ बाट निर्वाचित भए। तर ०७९ को निर्वाचनमा चितवन ३ पनि छाडेर गोरखा २ पुगे। त्यहाँ जनयुद्धका सहयात्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको साथ पाउँदा जित निकाले। गोरखा २ बाट अहिले प्रचण्डको नाम सिफारिस नै भएको छैन। त्यहाँ पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस हुँदा १ बाट भने सिफारिस भएको छ। प्रचण्ड यस पटक पनि सहज जित निकाल्ने निर्वाचन क्षेत्रको खोजी केन्द्रित भइरहेका छन्। रोल्पा, रुकुम पूर्वलगायतका क्षेत्रबाट सहज हुने भन्दै नेताहरूले सुझाएको भए पनि प्रचण्डले यसबारेमा अहिलेसम्म कुनै निर्णय लिइसकेका भने छैनन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल