Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता दलालीका खेल

काठमाडौं। सत्ताको मुख्य केन्द्रविन्दुमा प्रभाव जमाउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मालाई गठबन्धन टिकाउनका लागि जम्मा दुई दिनको अल्टिमेटम दिएपछि यी दुई दिनभित्र दृश्य अदृश्य खेलहरु फेरि चल्ने भएका छन्। यसै पनि मुलुकको शासन अस्थिरताबाट गुज्रँदै आएको अवस्थामा रवि लामिछाने प्रकरणले फेरि नयाँ हलचल ल्याइदिएको छ। यी दुई दिनमा मुख्यतया दुईवटा खेलहरु शुरु भएका छन्। प्रधानमन्त्री दाहालले सत्ता टिकाउन कांग्रेसको साथ खोज्ने र दाहालले अति गरेकाले एमालेले कांग्रेसलाई नै सत्ता सुम्पने। यी मुख्य विषयका वरिपरि अरु साना खेलहरु पनि छन् जसमा एउटाले हार र अर्कोले जीतको अनुभूति गर्दछन्। आफू प्रधानमन्त्री बन्दाताकाका प्रतिबद्धताहरुबाट प्रधानमन्त्री दाहाल पछि हट्न खोज्दाको परिणाम अहिले उनको सत्तामाथि संकट आएको छ।

र, यही संकटलाई हुर्काउने र सकेसम्म आफ्नो पक्षमा पार्ने गरी भारतीय र चिनियाँ जासुसी संयन्त्रहरु पनि राजधानीमा परिचालित छन्। मुलुकको सत्ता पुरै एमालेको हातमा पुग्नेभयो, राष्ट्रपति, सभामुख, राष्टिय सभाका अध्यक्ष, प्रधानन्यायाधीशसमेत अख्तियार प्रमुख पनि एमाले नै बन्ने भए भन्ने तर्कका आधारमा एमाललेलाई राष्टपति पद नदिने कुरामा प्रधानमन्त्रीलाई कन्भिन्स गराएको नेपाली कांग्रेस छ। यो पक्षलाई भारतीय पक्षले सपोर्ट गरिरहेको छ भने अर्कोतर्फ भावी राष्ट्रपति पदमा आफ्नो दलको नेतालाई निर्वाचित गर्नुपर्ने गरी लागेको एमाले छ जसलाई यो समिकरण टिकाएमात्र सो पद हासिल गर्न सकिन्छ भन्ने छ। यो समीकरण टिकाइरहने पक्षमा चिनियाँ सक्रियता पनि उत्तिकै छ। लामिछानेले दिएको दुई दिनेभित्र प्रधानमन्त्री दाहालले आफ्ना अडान त्यागेर लामिछानेको दललाई गृहमन्त्रालय फेरि दिए भने तत्कालका लागि खेल समाप्त हुने छ र खेलाडीहरुले केही दिनका लागि विश्राम लिने छन्। तर, दाहाल र उनको दलको अडान हेर्दा खेलो जारी रहने संकेत गरेकैले यी दुई दिन सत्ताका लागि निर्णायक बनेका छन्। यदि यो समिकरण टुट्ने हो भने कि त माओवादी, कांग्रेस र मधेशवादी दल मिल्नुपर्ने हुन्छ कि नेपाली कांग्रेस र एमाले। ओली र दाहाल एकअर्काप्रति सशंकित भएको परिस्थितिमा दुबै अवस्था अकस्मात नआउला भन्न सकिन्न।

दाहालले दिएको राष्ट्रपति पद लिएर नेपाली कांग्रेस ५ वर्ष नै दाहाललाई प्रधानमन्त्री बनाउन तयार भयो भने कांग्रेस र माओवादीसहित साना मधेशी दलको सरकार बन्न सक्छ। यो परिस्थितिमा लामिछानेको दुई दिनको म्याद प्रधानमन्त्री दाहालले पूरै बेवास्ता गरिदिनेछन्, एमालेलाई धोका दिनेछन् र कांग्रेससँगको सत्ता समीकरणका लागि विश्वासको मत लिने परिस्थिति बन्ने छ। तर, कांग्रेसभित्र नेतृत्व तहमै यदि मौका आउँछ भने दाहाललाई पनि सवक सिकाउनु पर्छ भन्ने आवाज पनि बलियो छ। कांग्रेसको भोट लिएर चुनाव जिती सत्ता समिकरणलाई धोका दिएर अचानक एमालेसँग मिलेकोमा कांग्रेसजनले अपमान महसुस गरेकै छन्। दाहाललाई सवक सिकाउन कांग्रेस र एमाले तयार भए भने दुई ठूला पार्टीको सरकार बन्न पनि सक्छ। तर, यो निकै कम सम्भावनाका रुपमा भने हेरिँदै छ। यी खेलका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा मुख्य पात्र भएका छन्। दाहाल र ओली आआफ्ना च्यानलमार्फत देउवासँग सम्पर्कमै रहेको दावी गरिएको छ। देउवाले खेल्ने खेलले भावी सत्ता संरचनाको निक्र्यौल गर्ने परिस्थिति पनि आउन सक्छ। देउवाले माओवादीसँग सम्झौता गरे साना दलका केही सांसदहरु र स्वतन्त्र सांसदहरु पनि मिलाउनु पर्ने हुन्छ।
किनकि कांग्रेस माओवादी, नेकपा एसले मात्र नयाँ सरकार बन्न संख्या पुग्दैन। यो परिस्थितिमा सांसद खरिदको खेल र मन्त्री पद बिक्रीको खेलमा पनि दलालहरु हिजैदेखि सक्रिय भइसकेका छन्। अर्को गठबन्धनलाई संख्या पुर्‍याउनबाट रोक्न एमाले र रास्वपाले पनि खेल गर्दा हुने खिचातानीले फोहोरी भएर ढुङढुंग्ती गन्हाएको नेपालको सत्तामा अझ भारी फोहोर थपिने छ। आफैंले निर्वाचित गरेर जनताले भने नाक थुनेर सत्ताको फोहोरी खेल हेरर अझै केही बर्ष सहन गर्नु पर्ने छ।