Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपलाई १२ वर्ष कैद माग, आजदेखि थुनछेक बहस

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कार अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सोमबार अदालतमा दायर गरिएको मुद्दामा पीडितलाई यथोचित क्षतिपूर्तिको मागदाबी पनि गरिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना रहेको उल्लेख छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित प्रहरीले कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही आधारमा सोमबार मुद्दा दर्ता गरिएको हो । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । भोलिपल्ट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी दिँदा आरोपित लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यसपछि अमेरिका गएका उनी गत असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । लामिछाने होटलमा बसेको भोलिपल्टै केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन भदौ २३ मा प्रहरीलाई अनुमति दिएको थियो । लगत्तै प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । त्यही दिन नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले गत असोज ७ मा विश्वभरका प्रहरीको साझा संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर लामिछानेको खोजी कार्य अघि बढाएको थियो । त्यसपछि दबाबमा परेका लामिछाने अमेरिकाबाट कतारको दोहा हुँदै नेपाल आएका थिए । लामिछानेले होटलमा जबर्जस्ती गर्न खोजेपछि आफूले प्रतिवाद गर्दा कुटपिट भएको पनि पीडित नाबालिगले प्रहरीलाई बयान दिएकी छन् । लामिछानेबाट आफू दुई पटक बलात्कृत भएको पीडितको भनाइ छ । लामिछानेलाई आफूले फ्यानका रूपमा भेटेको र भेटका लागि अर्का क्रिकेटर देव खनालले समन्वय गरिदिएको पीडितले उल्लेख गरेकी छन् । सुरुमा ‘स्न्याप च्याट’ मार्फत चिनजान गरेर पछि भेट भएपछि लामिछानेले घुम्नका लागि नगरकोट जान दबाब दिएको पीडित नाबालिगको बयान छ । जबर्जस्ती नगरकोटको होटलमा पुर्‍याएपछि फर्काएर आफूलाई तिलगंगाको होटल लगेको पीडितको भनाइ छ ।