Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापतिज्यू, नैतिकताको पाठ अब कसलाई पढाउने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता, राजनैतिक नैतिकता जस्ता विषयमा आफूलाई खरोसँग प्रस्तुत गर्दै आएका राजनीतिक व्यक्ति हुन् । तर, उनले नेतृत्व लिएसँगै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले शर्मनाक हार व्यहोरेको छ । त्यतिमात्रै होइन, गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित थापा सहित सबै पदाधिकारीले हारेका छन् । यहिँनेर सभापति थापाप्रति नैतिकताको गम्भीर प्रश्न सोझिएको छ कि उनले पार्टीको लज्जस्पद हारको जिम्मेवारी लिँदै कसरी नैतिकता प्रदर्शन गर्लान् ? सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आफूहरूलाई नेपाली राजनीति र कांग्रेस भित्रको राजनीतिमा लामो समयदेखि प्रतिपक्षी नेताको रूपमा स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।
विशेषगरी जेन(जी आन्दोलपछि पार्टी नेतृत्वमा कमजोरी रहेको भन्दै उनीहरूले नेतृत्व हस्तान्तरणको अभियान नै सञ्चालन गरेर विशेष १४ औँ महाधिवेशन प्रतिनिधिको बहुमत सदस्यको मागमार्फत विशेष महाधिवेशन सम्पन्न गर्न सफल भए । जुन महाधिवेशनमा पूर्व पार्टी सभापति शेरबहादुर देउबासहित ठूलो संख्याका नेता तथा कार्यकर्ता सहभागी भएनन् । तर, विशेष महाधिवेशनबाट नयाँ पार्टी नेतृत्व बनाएर चुनाव होमिँदा नै कांग्रेसले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ नाराको क्याम्पेनिङ गर्‍यो । यो क्याम्पेनिङले अघिल्लो नेतृत्व पूरै बेठिक थियो र अब ठीक भएको छ भन्ने सन्देश दिन खोजेको थियो । तर, टिकट वितरणको अवस्थासँग जोडेर हेर्ने हो भने त्यस्तो देखिँदैनथ्यो, किनकी बदलिएको कांग्रेसले पनि अधिकांश पुराना र कतिपय विवादित व्यक्तिहरूलाई पनि पुरानै शैलीबाट टिकट दिएर चुनावी मैदानमा उतार्‍यो । कांग्रेसले भ्रष्टाचारमा प्रश्न उठेका विजयकुमार गच्छदार, इट्टाभट्टा काण्ड लागेका अफताव आलमका छोरा, भ्रष्टाचार ठहर भएका टेकबहादुर गुरुङ लगायत थुप्रै विवादित व्यक्तिलाई टिकट दिएको थियो । चुनावी क्याम्पेनिङमा जाँदा कांग्रेस सभापति थापा तत्कालीन माओवादी र रास्वपाविरुद्ध निक्कै निर्मम सुनिएका थिए । उनले कांग्रेसबाहेक सबै शक्तिले मुलुकमा निकास दिन नसक्ने जिकिर गर्दै ‘अबकी बार, गगन सरकार’ नारा पनि तलसम्म लगाउन लगाए । तर, जनमतले भने सच्चिएको कांग्रेस र अब गगन प्रधानमन्त्री बन्ने एजेण्डा पत्याएन र अस्वीकार गरिदियो । यतिबेला सामाजिक सञ्जालमा छिटफुट रूपमा केही व्यक्तिहरूले सभापति थापा सहित अहिलेको नेतृत्वतर्फ नैतिकताको प्रश्न गरेका छन् । तर, सभापति थापाले भने विगतमा पार्टीका विभिन्न मञ्चदेखि संसदसम्म अरुलाई सिकाएको नैतिकताको पाठ आफूले कार्यान्वयन नगर्ने संकेत पनि दिइसकेका छन् । सर्लाही(४ मा पराजित भइसकेपछि आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयी भएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई बधाई दिँदै सो क्षेत्रमा देखेका समस्या समाधानमा आफू निरन्तर लागिरहने बताएका छन् । तर, उनले पार्टी सभापतिको हैसियतबाट समग्र चुनावी परिणामको जिम्मेवारी लिएर भने कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । त्यसैले अविच्छिन्न रूपमा अरुलाई नैतिकताको पाठ सिकाउने सभापति थापाले यसपटक आफैँले कसरी नैतिकता प्रदर्शन गर्छन् कि गर्दैनन् भन्ने कुरा निकै चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

२०८२ फाल्गुन २४

ताजा नेपाल