Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापति छान्न दोस्रो चरणमा मतदान, निधि र प्रकाशमान निर्णायक

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । त्यसआधारमा अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ । यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधि र गुरुङ निर्णायक बन्ने देखिएका छन् । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७०२ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५५६ को मतान्तर छ ।
जबकि सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४३ मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्‍याउन सकेनन् ।
कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए ।