Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख हटाए एमसीसी पास गर्न ओली राजी

काठमाडौं ।सत्ता विमुख हुनुपर्दाको पीडामा रहेका निवर्तमान प्रधानमन्त्री केपी ओली वर्तमान सत्ता गठबन्धन टुटाउन जे गर्न पनि तयार देखिएका छन् । उनको एउटै उद्देश्य छ पाँच दलीय सत्ता गठबन्धन भत्काएर काँग्रेस एक्लैलाई सत्ता चलाउन दिने तर चुनावमा गठबन्धन हुन नदिने एकमात्रै उद्देश्य पूरा गर्न उनी काँग्रेस सभापतिलाई आफ्नो पक्षमा पार्न तल्लिन छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो । त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।
प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् । तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा पनि उनले एमसीसी अगाडि बढाउने र साथ नदिए सत्ता गठबन्धन टुट्न सक्ने बताएका थिए । कांग्रेस र एमाले मिल्दा पनि एमसीसीलाई संसदमा अगाडि बढाउन सभामुख बाधक बन्न सक्छन् । अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा लैजान सहयोग नगरेको ओलीको आरोप छ । संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिए । तत्कालीन नेकपाका अध्यक्ष र तत्कालिन प्रधानमन्त्री ओली आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे, तर प्रचण्डको जोडबलमा अग्नि सापकोटा सभामुख बने । पछिल्लो पटक एमाले विभाजनका लागि भूमिका खेलेको आरोप लगाउँदै ओली सभामुख सापकोटासँग रुष्ट छन् । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचारलाई रोकेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । उसले १४ जनालाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । अहिले एमसीसी पास गर्न कांग्रेसलाई साथ दिँदा सापकोटालाई सभामुखबाट पनि हटाउन सकियो भने कांग्रेस र माओवादी केन्द्रको दुरी बढ्ने मात्र होइन, इबी साँध्न पनि पाइने बुझेर नै एमाले अध्यक्ष ओलीले सापकोटालाई हटाउने प्रस्ताव गरेको हुनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ । तर सभामुख हटाउन सजिलो छैन । सभामुख हटाउन आवश्यक पर्ने दुई तिहाई कांग्रेस र एमालेसँग छैन । संंविधानको धारा ९१ मा सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ । धारा ९१ (६) सभामुख र उपसभामुख अनुसार प्रतिनिधि सभाको सदस्य नरहेमा, सभामुखले लिखित राजीनामा दिएमा र सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा मात्र सभामुख पद रिक्त रहन्छ । सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावअगाडि बढाउने प्रक्रियासम्बन्धी ब्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ को नियम २०७ मा छ । तर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले साथ नदिनासाथ प्रतिनिधिसभामा दुई तिहाई पुग्दैन । साथै कांग्रेस पनि सभामुख हटाएर प्रचण्डसँग दुश्मनी मोल्ने पक्षमा देखिएको छैन ।यही फेब्रुअरी महिनाभित्र एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने दबाव पनि प्रधानमन्त्री देउवामाथि छ । त्यसैले उनले गठबन्धन जोगाउने शर्तमा प्रचण्ड र माधव नेपालहरुलाई नै एमसीसी अनुमोदनका लागि मनाउने वा एमालेलाई साथ दिएर एमसीसी अनुमोदन गर्ने एक विकल्प रोज्नसक्छन् ।