Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समानुपातिक सूचीबाट हट्यो ५५० उम्मेदवारको नाम

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका पाँच सयभन्दा बढी उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरी जरीवाना नबुझाएका सहित ५५० जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको हो। प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ उम्मेदवारमध्ये ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ। निर्वाचन कानुन तथा निर्वाचन आचरसंहिता बमोजिम तोकिएको जरीवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल एक जना र कालो सूचीमा रहेका एक जना गरी कुल ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
बन्दसूचीमा परेका कतिपय उम्मेदवार वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भइ खर्चको विवरण पेस नगरेको पाइएपछि उनीहरूको नाम हटाइएको भट्टराईले बताएका छन्। आयोगले त्यस्ता उम्मेदवारलाई कात्तिक ५ गतेसम्म खर्च विवरण पेस गर्न समयसीमा दिएको थियो।
यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभातर्फ २३ जना र प्रदेससभातर्फ २९ जना गरी ५२ जनाको नाम पनि आयोगले हटाएको छ। दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै पालिकाको मतदाता नामावलीमा नाम नभएको प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेसभित्रको मतदाता नामावलीमा नाम नभएको प्रदेससभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेस नभएको ६ जनाको नाम पनि हटाउने निर्णय भएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए।