Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारकाे कारबाही राेकिँदैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि अवस्थामा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले त्रसित भई विभिन्न हल्ला र मिडिया ट्रायलमा संलग्न भएको आरोप लगाएका छन्।

पछिल्लो समय सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई लक्षित गर्दै फैलाइएका हल्ला तथा मिडिया ट्रायलप्रति गृहमन्त्रीले कडा प्रतिक्रिया जनाएका छन्। उनका अनुसार वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत–पसिनाले संकलित रकममा अनियमितता गर्नेहरू अहिले डराएको अवस्था छ।

गुरुङले यस्ता समूहहरू कारबाहीबाट जोगिन प्रायोजित हल्ला फैलाउने र मिडियामार्फत भ्रम सिर्जना गर्ने प्रयासमा लागेको बताए। “मिडिया ट्रायल र प्रायोजित हल्ला उनीहरूको छटपटी मात्र हो,” उनले लेखेका छन्, “तर सरकारको कारबाही न रोकिन्छ, न डगमगाउँछ।”

उनले ठूलो मात्रामा भ्रष्टाचार गर्नेहरूमाथि कडा निगरानी र अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन्। “दिनको ५० करोड रुपैयाँसम्म भ्रष्टाचार गर्नेहरूमाथि पनि हामी दृढताका साथ अघि बढिरहेका छौँ,” उनले दाबी गरे।

गृहमन्त्रीका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै कानुनी दायराभित्र रहेर कडा कदम चालिरहेको छ। निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही गरिने उल्लेख गर्दै उनले कुनै पनि दबाब वा प्रभावमा नपरी काम गरिने स्पष्ट पारे।