Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार प्रतिशोधको बाटोमा हिँड्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अपनाएको र संवैधानिक निकाय तथा न्यायपालिकामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी गरेको विशेष विज्ञप्तिमार्फत सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका हुन्।

देउवाले सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत अघि बढिरहेको दाबी गर्दै न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक संस्थालाई कार्यकारी नियन्त्रणमा राख्ने प्रयास भइरहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता प्रवृत्तिले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती सिर्जना गर्न सक्छ।

उनले मुलुकमा प्रतिशोध र निषेधको राजनीति मौलाउँदै गएको भन्दै यसलाई रोक्न राष्ट्रिय सहमति, संवाद र सहकार्यको आवश्यकता औँल्याएका छन्। बिपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिको स्मरण गर्दै उनले अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको बताएका छन्।

आफ्नो करिब छ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले नेपाली कांग्रेसले मुलुकका कठिन राजनीतिक मोडहरूमा जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गरेका छन्। शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारी व्यवस्थापनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै वर्तमान चुनौती सामना गर्न पनि पार्टी सक्षम रहेको उनको भनाइ छ।

देउवाले पछिल्लो निर्वाचनबाट विशेषगरी युवा पुस्ताले नयाँ जनादेश प्राप्त गरेको यथार्थलाई आफूले सम्मान गर्ने बताएका छन्। यद्यपि निर्वाचन हिंसा र त्रासको वातावरणमा सम्पन्न भएको दाबी गर्दै उनले त्यसप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो ध्यान सधैँ देश र जनतामै केन्द्रित रहेको उल्लेख गर्दै देउवाले आफू चाँडै स्वदेश फर्किने जानकारी दिएका छन्। साथै उनले लोकतन्त्र र जनताको अधिकारप्रति आफ्नो प्रतिबद्धता कायमै रहने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल