Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार फेसबुकको हल्लामा लाग्योः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गर्ने गलत कामको समेत समर्थन गर्नु नभएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले राम्रो काम गर्दा प्रतिपक्षले साथ र समर्थन गर्ने, तर सरकार बाटो बिराउँदा खबरदारी गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए। उनले विपद्को समयमा गरिने प्रश्न र आलोचनालाई पूर्वाग्रहका रूपमा नबुझ्न आग्रह गरे।

‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो,’ उनले भने।

सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको उनको भनाइ थियो। सरकार र सत्तारूढ दलका नेताहरूलाई विपद्को अवस्थालाई प्रचारको विषयभन्दा नागरिकको ज्यान जोगाउने प्राथमिकताका रूपमा लिन उनले आग्रह गरे।

‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले भने।

आङदेम्बेले विपद्पछि सबैभन्दा बढी खट्किएको विषय खोज तथा उद्धार नै रहेको बताए। विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय विषय भएको उनको टिप्पणी थियो।

सरकार फिल्डमा प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै उनले सरकार सामाजिक सञ्जालमा मात्रै देखिएको टिप्पणी गरे। विपद्को समयमा सामाजिक सञ्जालमा प्रचार गर्नुभन्दा उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति, विज्ञ र साधनस्रोत तत्काल परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

‘मलाई एउटा प्रश्नले घोचिरहेको छ। यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य परेको भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो “वाह मन्त्रीजी” भन्दै पोस्ट गरिराख्नुहुन्थ्यो?’ आङदेम्बेले प्रश्न गरे।

उनले विपद्को समयमा सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र राहत हुनुपर्ने भन्दै यस विषयमा सरकार गम्भीर भएर समीक्षा गर्नुपर्ने बताए।


सम्बन्धित समाचार

विपद्मा पनि देखियो पूर्वाग्रह

२०८३ भाद्र १८

ताजा नेपाल

आफ्ना बनेका नयाँ जोगी खोज्दै रास्वपा

२०८३ भाद्र १८

ताजा नेपाल

अदालती फैसलापछि हुन्छ जात्रा

२०८३ भाद्र १८

ताजा नेपाल