Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वसाधारणको रकम सुरक्षित छ : राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोबार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैङ्कको एटीएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैङ्कले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्नेबारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ । बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने– ‘आमनागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन ।’ उनले बैङ्क तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोबार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको बताएका छन् । चिनियाँ नागरिकले गत शनिवार साँझ दरबारमार्गको एटीएमबाट एक करोड पाँच लाख भारतीय रूपैयाँ र रू. एक करोड ७६ लाख निकालेका थिए । बैङ्किङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैङ्कले केही निष्कर्ष निकाल्यो त ? भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भने– ‘त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरूको छानबिन गर्छांै ।’उनले बैङ्क तथा वित्तीय संस्थालाई पनि थप सतर्कता अपनाउनसमेत निर्देशन दिइएको छ बताएका छन् । एटीएमबाट पैसा झिक्नका लागि नबिल बैङ्क, नेपाल एसबीआई बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कको एटीएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैङ्क, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई बैङ्क र सनराइज बैङ्कका एटीएम बुथबाट पैसा निकालेका थिए । प्रहरीले एटीएमबाट पैसा लुट्ने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैङ्कको एटीएमवरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।