Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रले देखायो प्रदेश ५ मा सक्रियता

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपालका नं. ५ प्रदेशअन्तर्गतका विभिन्न युनिटहरूले आ.व. २०७६।०७७ को पहिलो छ महिना (श्रावण, भाद्र, असोज, कार्तिक, मङ्सिर, पौष) मसान्तसम्ममा रू. ८९०९७०४० (आठ करोड नब्बे लाख सन्तानब्बे हजार चालीस) मूल्यबराबरको अवैध चोरी, निकासी–पैठारीका सामानहरू बरामद गरी सम्बन्धित निकायहरूमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही तथा मातहत युनिटहरूले गत आ.व. २०७५।७६ को यस अवधिभन्दा आ.व. ०७६।०७७ मा १७५ प्रतिशत बढी रकमको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार गत आ.व. ०७५।०७६ को पहिलो छ महिनामा रू. ३२३६०३२६ (तीन करोड तेईस लाख साठी हजार तीन सय छब्बीस) मूल्यबराबरको सामान बरामद गरेको थियो । त्यस्तै, गत आ.व.को पूरा अवधिमा कुल ५ करोड ३० लाख मूल्यबराबरको अवैध निकासी पैठारी सामग्रीहरू बरामद गरेकोमा यस वर्षको पहिलो छ महिना अवधिमा नै सोभन्दा करिब ३ करोड ६० लाखबढी परिणामको बरामद गर्न सफल भएको छ ।

त्यसै गरी चेकजाँच र गस्ती पट्रोलको क्रममा मातहत विभिन्न युनिटहरूबाट भरुवा बन्दुक २ नाल, एयर गन १ नाल तथा विभिन्न प्रकारका लागूऔषध चार हजार एक सय सन्ताउन्न पिस बरामद गरेको छ । लागूऔषध तथा हातहतियार ओसार–पसारमा संलग्न २३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाएको छ ।

सीमा सुरक्षा तथा अवैध चोरी–पैठारी नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि रूपन्देही, कपिलवस्तु र बाँकेका सीमावर्ती नाकाहरूमा चालू आ.व.मा ११ वटा सीसीटीभी जडान गरिएको छ । सीमा सुरक्षालाई मध्यनजर गरी नेपाल सरकारले थप गर्ने निर्णय गरेका ११४ वटा बीओपीमध्ये नं. ५ प्रदेशमा मात्र थप ३३ वटा बीओपी स्थापना हुने र सोअनुरूप बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका– १६ जयसपुरमा बीओपी जयसपुर र बर्दिया जिल्ला गुलरिया नगरपालिका– ३ कट्टीमा बीओपी कट्टी स्थापना गरिसकिएको र पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, र दाङमा चारवटा बीओपीहरू तत्काल स्थापनाको क्रममा रहेका छन् र अन्य थप बीओपीहरू क्रमशः स्थापनाको लागि प्रक्रिया अगाडि बढाइएको नं. ५ प्रदेशका बाहिनीपति सप्रनामनि नारायणदत्त पौडेलले बताए ।

साथै, उनले सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अवैद्य चोरी निकासी नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध ओसार–पसार नियन्त्रणलगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सीमा अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर स.प्र.बल नेपालले कार्य गरिरहेको र सीमा सुरक्षालाई अझ बढी प्रभावकारी बनाउन संयुक्त सुरक्षा गस्ती र सीमा क्षेत्रका स्थानीय निकाय, स्थानीय जनता र विद्यालयहरूसँग समन्वय गरी सीमा सुरक्षा सचेतना कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको जानकारी गराए । समग्र प्रदेशको शान्ति सुरक्षा, विप्लप गतिविधि नियन्त्रणका साथै दैवी प्रकोप उद्धार जस्ता कार्यक्रममा स.प्र.बल नेपाल परिचालन भई प्रभावकारीरूपले कार्य सम्पादन गर्दै आइरहेको समेत बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल