Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारीमा मेरो नाम बाहेक केही छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । सहकारी ठगीमा संलग्न भएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विरुद्ध काँग्रेसले संसदमा जोडदार आवाज उठाइरहेको बेला सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको लामिछानेले स्पष्ट पारेका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताए । अदालतमा पुगेको सहकारी मुद्दामा आफ्नो नाम पनि नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले प्रहरीमा एउटा जाहेरी बाहेक अन्य कहीँ कतै आफ्नो नाम नरहेको र जाहेरी पनि प्रहरीमा दर्ता नभएको बताए । बैठकमा बोल्दै उनले भने, सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ । अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम पनि छैन । प्रहरीमा जाहेरी छ । सूचनाका रूपमा त्यो दर्ता नभएको कुरा पनि छ । यसअघि प्रहरी महानिरीक्षक बसन्त कुँवरले पोखराको सूर्यदर्शन सहकारीका सम्बन्धमा ठाडो उजुरी परेको र त्यसमा रवि लामिछानेको नाम रहेको बताएका थिए । समिति बैठकमा कांग्रेस सांसदहरुले सहकारी मुद्दामा नाम जोडिएकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । सांसदका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यसअघि कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको उल्लेख गरे ।

गृहमन्त्री विरुद्ध सहकारी ठगीको मुद्दा छैन
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा महानिरीक्षक कुँवरले प्रहरीमा गृहमन्त्रीविरुद्धको मुद्दा नरहेको बताए । यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएकाले राजीनामा दिएर छानबिनमा सहयोग गर्न सुझाव दिएका थिए ।