सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालमा धम्की दिएको आरोपमा दुई जना पक्राउ
चितवन। प्रतिनिधिसभा सदस्य खुस्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको तथा चरित्रहत्या गर्ने सामग्री पोस्ट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूमाथि फेसबुकमार्फत सांसद ओलीलाई धम्की दिने तथा मानहानी हुने प्रकृतिका सामग्री प्रकाशन गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले सांसद ओलीले दिएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूको पहिचान गरी चितवन प्रहरीलाई जानकारी गराएको र त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिइएको बताए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य रहेको जानकारी प्राप्त भएको छ। यद्यपि उनी पार्टीको औपचारिक संगठनात्मक जिम्मेवारीमा नरहेको जिल्ला तहको स्रोतले जनाएको छ।
सार्वजनिक बिदाका कारण आइतबार उनीहरूविरुद्ध म्याद थपको प्रक्रिया अघि बढ्न नसकेको प्रहरीले जनाएको छ। अब सोमबार अदालतबाट म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दाको अनुसन्धान चितवनबाटै अघि बढाइने तयारी रहेको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी उजुरी जहाँ दर्ता भए पनि अनुसन्धान तथा मुद्दा प्रक्रिया सम्बन्धित प्रहरी कार्यालयबाट सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ।