Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद भण्डारीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर निर्मल’ रहेको देखिएको छ। शुक्रबार उनको पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। नेता भण्डारीको थप उपचार बिहीबारदेखि मुम्बइस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ। नेता भण्डारीको सबै पारामिटर सामान्य रहेको उपचारमा संलग्न डा।धनन्जयलाई उद्धृत गर्दै उनीसँगै मुम्बइमा रहेका सहयोगी माधव न्यौपानेले जानकारी दिए। पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण सोचेभन्दा बढी समय लागेको र लामो समयसम्म ‘अब्जरवेसन’ मा राख्नुपरेकाले दोस्रो सर्जरी गर्न नसकिएको उनले बताए। नेता भण्डारीको फोक्सोको तल्लो भागमा कार्बन मोनोक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। आमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको थियो। नेता भण्डारीको उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५ देखि ३० प्रतिशत जलन भएको थियो।