Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्ति र प्रस्तुतिप्रति असन्तुष्ट नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्।
शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका आईजीपी कार्कीले संसदीय समितिको बैठकमै आफूविरुद्ध लगाइएका आरोप र प्रस्तुत गरिएको व्यवहारबारे सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनी प्रहरीका अन्य उच्च अधिकारीसहित सभामुखलाई भेट्न पुगेका थिए।
सुनारले बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी तथा सशस्त्र प्रहरीका पोसाक र सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव र आईजीपीलाई पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको र चोरीमा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले यातना दिएको आरोपसमेत लगाएका थिए।
सुनारले आरोप लागेका व्यक्ति पदमै रहँदा आफूमाथिको अनुसन्धान प्रभावित हुनसक्ने दाबी गर्दै आईजीपीलाई जिम्मेवारीबाट हटाउनुपर्ने बताएका थिए।
सांसद सुनारको अभिव्यक्तिप्रति शुक्रबार नै गृहमन्त्री सुधन गुरुङले समेत असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको कानुन समितिमा बोल्दै उनले उजुरी वा आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए।
‘उजुरीको भरमा कोही पनि न्यायाधीश बन्न मिल्दैन,’ गुरुङले भने। गृहसचिव र प्रहरी प्रमुखमाथि समितिमा प्रस्तुत गरिएको व्यवहारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ थियो।
उनले वर्तमान सरकारको भावनाअनुसार प्रहरी प्रशासनले जिम्मेवारीपूर्वक काम गरिरहेको दाबीसमेत गरे।
बुधबार सार्वजनिक लेखा समितिमा प्रहरीको पोसाक तथा सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल हुँदा सांसद सुनार र आईजीपी कार्कीबीच चर्काचर्की भएको थियो।
सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको दाबी गर्दै चोरीमा संलग्न भनिएका व्यक्तिमाथि प्रहरीले यातना दिएको आरोप लगाएपछि कार्कीले बैठकमै प्रतिवाद गरेका थिए।
‘न त ३ करोड हराएको छ, न हाम्रा घरपरिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सधैं सबै कुराको अबगाल खाइराख्नुपर्ने हो र?’ कार्कीले प्रश्न गरेका थिए।
उनले आफ्नो तथा परिवारका बैंक विवरण र कल रेकर्ड जाँच गर्नसमेत चुनौती दिएका थिए। ‘मेरो र मेरो परिवारको बैंक डिटेल्स, कल रेकर्ड जे–जे हेर्नुपर्छ हेर्नुस्,’ उनले भनेका थिए।
बैठकबाट सुनार बाहिरिएपछि अन्य सांसदहरूले पनि आरोप लगाएर जवाफ नदिई बैठक छाड्नु उपयुक्त नभएको टिप्पणी गरेका थिए। नेकपाका सांसद वर्षमान पुनले त्यसप्रति आपत्ति जनाएका थिए भने राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आईजीपीको राजीनामा माग्दै असभ्य शैलीमा प्रस्तुत हुनु संसदीय अनुशासनविपरीत भएको बताएकी थिइन्।
सांसद गोविन्द पन्थी र महेन्द्रबहादुर शाहीले पनि सुरक्षा निकायका प्रमुखलाई समितिमा बोलाएर निलम्बनको माग गर्नु तथा अपराधीजस्तो व्यवहार गर्नु दुःखद् भएको बताएका थिए।
यसैबीच, सार्वजनिक लेखा समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक तथा सामग्री खरिदसम्बन्धी सम्पूर्ण विवरण १५ दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
समिति सभापति भरतबहादुर खड्काका अनुसार निर्वाचनका बेला निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, आपूर्तिको गुणस्तर परीक्षण, बिल तथा भुक्तानीलगायत सम्पूर्ण विवरण माग गरिएको हो।
यस प्रकरणमा संसदीय समितिमा उठेका आरोप, प्रहरी नेतृत्वको प्रतिवाद र सरकारको प्रतिक्रियाले आगामी दिनमा छानबिन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयलाई चासोको रूपमा हेरिएको छ।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल