Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउदीमा रोनाल्डोलाई भव्य स्वागत

काठमाडौँ  । विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लब अल नासरले मंगलबार औपचारिक रूपमा प्रशंसकसामु प्रस्तुत गरेको छ । रियादस्थित अल नासरको घरेलु रंगशाला मरसूल पार्क स्टेडियममा रोनाल्डोलाई भव्य स्वागत गरिएको थियो । ३७ वर्षीय पोर्चुगिज स्टार मैदान प्रवेश गर्दैगर्दा रंगशालामा आतिसबाजीसमेत गरिएको थियो । उनको स्वागतमा करिब २५ हजार दर्शक उपस्थित थिए । ५ पटकका बलोन डीओर विजेता र ५ पटक नै च्याम्पियन्स लिग जितेका रोनाल्डो कीर्तिमानी रकममा अल नासर क्लबमा सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् । नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड -झन्डै २८ अर्ब नेपाली रुपैयाँ_ पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो । म्यानचेस्टर युनाइटेडसँग अलग हुने निर्णयपछि ९ पल्टको साउदी लिग च्याम्पियन टोलीसँग रोनाल्डो अनुबन्धित भएका हुन् । साउदी क्लबमा आफ्नो अनुबन्धबारे रोनाल्डो भन्छन्, साउदी अरब आउनु भनेको मेरो करियरको अन्त्य हुनु होइन । मान्छेहरूले के भन्छन् भन्ने कुरामा म चिन्तै लिन्नँ । युरोपमा आफूले उत्कृष्ट फुटबल खेलेको उल्लेख गर्दै उनले भने, युरोपमा मैले खेल्नुपर्ने जति खेलेँ । मलाई युरोप, ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलबाट पनि धेरै प्रस्ताव आएका थिए । धेरै क्लबले मलाई अनुबन्ध गर्न खोजेका थिए तर मैले यस क्लब (अल नासर) सँग वाचा गरेको थिएँ । रंगशालामा रोनाल्डोको प्रेमिका जोर्जिना रोड्रिगेज र छोराछोरीसमेत उपस्थित थिए । अल नासरका मुख्य प्रशिक्षक रुडी ग्रासियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरेबेयिन लिगका लागि ठूलो कदम भएको बताएका छन् ।