Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउदी अरबले बायोमेट्रिक लिन सुरु गर्यो

काठमाडौँ । नेपाल सरकारसँग कुनै अनुमति नलिइ र जानकारी पनि नदिइ साउदी अरबले अरब जाने कामदारको बायोमट्रिक औंठा छाप लिन थालेको छ ।

साउदी अरबले हिजो सोमबारदेखि नै नेपाली कामदारको बायोमेट्रिक लिन सुरु गरेको थियो । यस विषयमा नेपाल सरकारका निकायले कुनै प्रतिक्रिया दिएका छैनन् र यससम्बन्धी अर्को कुनै सार्वजनिक सूचना पनि जारी गरेका छैनन् ।

यस प्रयोजनका लागि अरबले काठमाडौंको थापाथलीमा बायोमेट्रिक केन्द्र नै खडा गरेको छ । यसका लागि आवश्यक संयन्त्र बनाइएको र बायोमेट्रिकका लागि कामदारले ७ सय ३० रुपैयाँ शुल्क बुझाउनुर्पे सूचना पनि सो केन्द्रमा टाँसिएको छ । साउदी अरब सरकारले बायोमेट्रिक नभएको कामदारको राहदानी नलिने भन्दै म्यानपावर कम्पनीहरूलाई अनिवार्य कामदारलाई बायोमेट्रिक लिनका लागि सूचित गरेको भन्दै काठमाडौंस्थित साउदी अरब दूतावासले सूचना पठाएको छ ।

नेपालका लगभग सबै म्यानपावर कम्पनीलाई यो सूचना पठाइएको छ । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । सोमबार नै यो कुरा थाहा भए पछि श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको भए पनि अहिलेसम्म केही सूचना बाहिर आएको छैन । यसले कामदारको लागत समेत बढ्न जाने भएकोले यस सम्बन्धमा नेपाल सरकारका यससम्बन्धी निकायसँग थप छलफल गर्नु आवश्यक देखिएको छ ।

नेपालको श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत साउदी अरबको नेपालस्थित दूतावासमा सम्पर्क गर्ने जनाइएको छ । यसैबीच हिजो सोमबार नै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालको सहमतिविपरीत एकतर्फी रूपमा बायोमेट्रिक गरेको भन्दै यसको विरोध गरेको छ । सो संगठनले थापाथलीस्थित भीएसएफ तसहेर कम्पनीमा सोमबार घेराउ गरेको थियो । व्यवसायीहरूले बायोमेट्रिक गर्न आएका कामदारलाई कार्यालयभित्र प्रवेश गर्न दिएका थिएनन् ।

दूतावासले कामदारलाई अनावश्यक रूपमा भार पार्ने काम गरेको सो संगठनको भनाई छ । आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि भनेर साउदी सरकारले नेपालका विभिन्न १३ वटा स्वास्थ्य संस्थालाई जिम्मेवारी दिएको छ । आफैले तोकेका ती स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरिएको प्रमाणित भएर आएपछि मात्र ती कामदारको भिसा प्रक्रिया अगाडि बढ्ने गरेको छ ।


सम्बन्धित समाचार