Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा

काठमाडौं । विदेश गएको साढे पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित बिहीबार दिउँसो थाइल्यान्डबाट काठमाडौं फर्किन लागेका हुन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन्। उनको स्वागतका लागि देउवा पक्षले भव्य तयारी गरेको छ।

यसअघि देउवा साउन २६ गते राति करिब ९ बजे नेपाल फर्किने तयारीमा थिए। रातिको समयमा विमानस्थलमा स्वागत गर्दा असहज हुने देखिएपछि उनको आगमन दुई दिनपछि दिउँसोका लागि सारिएको बताइएको छ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी आरजु राणा देउवा पनि उपचारका लागि सिंगापुर पुगेकी थिइन्। त्यसपछि दुवै जना थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेको जानकारी दिइए पनि त्यसयता उनीहरू कहाँ रहे भन्ने विषय सार्वजनिक गरिएको थिएन।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यसक्रममा देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। केही समय नेपालमै उपचार गराएपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्किएका देउवा फलोअपका लागि पुनः फागुन १३ गते सिंगापुर गएको बताइएको थियो।

पक्राउ पुर्जीपछि सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पती सिंगापुरमा रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेको थियो।

तर पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत दायर गरिएको रिटमा सर्वोच्च अदालतले देउवा र आरजु राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

यही पृष्ठभूमिमा देउवा स्वदेश फर्किन लागेकाले उनको नेपाल आगमनलाई राजनीतिक तथा कानुनी दुवै दृष्टिले चासोका साथ हेरिएको छ।

कांग्रेसको राष्ट्रिय भेलाको तयारी

कांग्रेसभित्र असन्तुष्टि र नेतृत्व विवाद चुलिएका बेला देउवा स्वदेश फर्किन लागेका हुन्। देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा उद्घाटन हुने भेलामा करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ।

राष्ट्रिय भेलाको सम्मुखमा देउवाको स्वदेश आगमनलाई कांग्रेसभित्र शक्ति प्रदर्शन र आगामी राजनीतिक रणनीतिका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ। देउवाले भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्व विवाद र पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।