Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामान्य प्रशासन मन्त्रालयले दियो कडा उर्दी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ। कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलन भई काम गर्दै आएका कर्मचारीहरुलाई दरबन्दी भन्दा बढी भएको भन्दै फिर्ता पठाउन थालेपछि सामान्यले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले भनेको छ, कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई विभिन्न बाहनामा फिर्ता पठाएको बुझिन आएकोले यसरी फिर्ता गर्नु कानूनी व्यवस्थाको प्रतिकुल हो, निजलाई साविक बमोजिम हाजिर गर्ने व्यवस्था मिलाउन अनुरोध छ। कतिपय स्थानीय तहले स्वास्थ्यमा बढी दरबन्दी भएको भन्दै समायोजन तथा समायोजन मिलान भई गएका कर्मचारीहरुलाई फिर्ता पठाउने गरेका छन्। धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षदेखि हाजिर गर्न दिएको छैन। समायोजन मिलान भएका ३३ जना कर्मचारीको हाजिर रोकेपछि अहिले उनीहरु उपमहानगरपालिकाको प्राङ्गणमा धर्नामा छन्। कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाका नगर प्रमुखले उनीहरुसंग यस विषयमा छलफल गरेका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसअघिनै समायोजन तथा समायोजन मिलान भएका कर्मचारीहरुलाई फिर्ता नपठाउन भन्दै पत्र पठाएको थियो। तर, उपमहानगरपालिकाले सो पत्रको अवज्ञा गर्दै फिर्ता पठाउने निर्णय गरेको थियो।