Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामान्य बन्यो कपिलवस्तु, कर्फ्यु हटाइँदै

कपिलवस्तु । हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर १ युवकको मृत्यु भएपछि कपिलवस्तु झन् तनावग्रस्त बनेको थियो ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । बिहीबार दिउँसोदेखिको प्रयासका बाबदूत राति दुई पक्षबीच ११ बुँदे सहमति भएपछि स्थिति सामान्य बन्दै गइरहेको बताइन्छ । बिहीबार राति गोली लागी मृत्यु भएका व्यक्तिका आफन्तसहित स्थानीय बासिन्दा र स्थानीय प्रशासनबीच ११ बुँदे समझदारी भएको छ । उक्त समझदारीपछि हिन्दू समूदायका व्यक्तिहरुले लक्ष्मी पूजाको मूर्तिहरु पनि बिहीबार राति नै बिसर्जन गरिसकेका छन् ।
दुई पक्षबीच स्थानीयले दिएको उजुरीमा किटान गरिएका घटनाका दोषीलाई कारबाही गर्ने । मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत विषयमा समझदारी भएको बताइएको छ ।
तिहारको समयमा लक्ष्मी पूजा गरी मूर्ति बिसर्जन गर्ने क्रममा स्थानीय मुस्लिम समूदायका युवाहरुले अवरोध सिर्जना गरेपछि बुधबार साँझदेखि कृष्णनगरमा तनाव बढेको थियो ।
हिन्दू समुदायले मूर्ति विसर्जन गर्न खोज्दा मुस्लिम समूदायहरुले आफ्नो टोल हुँदै जान नदिएपछि तनाव उत्पन्न भएको थियो । पछि दुई समुदायबीचको तनावले उग्र रुप लिँदा झडपको स्थिति सिर्जना भएको थियो । उक्त झडपमा गोली चल्दा बिहीबार बिहान सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।
मृतक पाण्डेका परिवारले २० लाख रुपैयाँ क्षतिपूर्तिका माग गरेका छन् । स्थानीय प्रशासनले २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने अधिकार नभएकाले त्यससम्बन्धमा गृह मन्त्रालयमा सिफारिस गर्ने समझदारी भएको थियो ।


सम्बन्धित समाचार