Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामुदायिक सेवा केन्द्रको परिचयात्मक भेला

काठमाडौं । २०३९ सालदेखि नेपाल प्रहरीको सहयोगी संस्थाको रुपमा स्थापना गर्ने अभियान शुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभरि फैलिएको छ । त्यो केन्द्रको उद्देश्य समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने र जनताका समस्यालाई राज्य तहसम्म पु¥याउन नेपाल प्रहरीलाई सहयोग गर्ने रहेको छ । केन्द्रलाई राज्यको तहबाट सहयोग नभए पनि नेपाल प्रहरीमार्फत् आवश्यकताअनुसार सहयोग भइरहेको छ । प्रहरीलाई जनतासँग जोड्न बेला बखत विभिन्न नारासहित कार्यक्रमहरु बनाउने र सम्पन्न गर्ने अभियान पनि नचलेका होइनन् । प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा जस्ता योजनाहरु आए, हराए । तर, सामुदायिक प्रहरी, जनतासँग साझेदारी भन्ने योजना भने अहिले देशैभर फैलिएको छ । २०३९ सालमा प्रहरी प्रधान कार्यालयको अग्रसरतामा शुरु भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम उपत्यकाभित्र २९ शाखाबाट सञ्चालित हुँदै आएको छ । यो समुहलाई संंगठित रुपमा देशव्यापी बनाउने र सामुदायिक सेवा परिषद् गठन गर्ने चर्चा पनि चलिरहेको छ । यही समयमा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक केन्द्रहरुको परिचयात्मक कार्यक्रम शनिबार बौद्ध परिसरमा रहेको तामाङ कल्याण गुठी भवनमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बौद्ध प्रहरीका डिएसपी राजु पाण्डे, पूर्व प्रहरी एआईजी तथा सामुदायिक सेवा केन्द्र तिखेदेवल ललितपुरका अध्यक्ष डा. गोविन्द थापा, गोकर्णेश्वर सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष नवराज लामा र बौद्ध केन्द्रमा सल्लाहकार जयमंगल लामाको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी भण्डारीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने सल्लाहकार जयमंगल लामा, पूर्व एआईजी गोविन्द थापा, बौद्ध वृद्धका डिएसपी राजु पाण्डे लगायतले केन्द्रको महत्व र वर्तमान परिस्थितिमा केन्द्रसँग सहभागी सदस्यहरुको सक्रियतालाई जोड दिएका थिए । प्रहरी फोर्स सर्भिस हो, प्रहरीलाई जनतासँग जोड्ने काम सामुदायिक सेवा केन्द्रहरुले गर्छन् र जनताका समस्या सेवा केन्द्रहरुमार्फत् प्रहरी हुँदै राज्यका विभिन्न तहमा पु¥याउन यस्ता संस्थाहरुको आवश्यकता रहेको कार्यक्रमका वक्ताहरुले स्पष्ट पारेका थिए । कार्यक्रम वरिष्ठ साहित्यकार तथा समाजसेवी देवी घिमिरेले सञ्चालन गरेका थिए ।