Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साहित्यमा को कति अब्बल छ भन्ने कुराले मान्यता राख्दैन

० भीष्मराज फुलारा, युवा स्रष्टा

प्राकृतिक रूपले अनि सुन्दर सुदूरपश्चिम डोटी जिल्लाको, चुडी गाऊँमा जन्मिनु भएका भीष्मराज फुलारा युवा साहित्यकारको रूपमा सुपरिचीत छन् । उहाँ करिव एक दशकभन्दा बढी लेखन कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका कृतिहरूः नफापेको मान्छे उपन्यास (२०६७), टुहुरो कुण्डली उपन्यास (२०७३), नेपाली भाषा र साहित्यको इतिहास ः त्यहाँदेखि यहाँसम्म (२०७५), अंग्रेजी संस्करण ओरपान हरस्कोप उपन्यास (२०७६) जस्ता कृतिहरू प्रकाशित छन् । यी कृतिको अतिरिक्त उहाँका आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन् । देश, काल सुहाउँदो समयसापेक्षिक सिर्जना गर्न सिपालु फुलाराका बिश्वब्यापि रूपमा फैलिरहेको (कोभिड १९) लाई लिएर गत साल ‘कस्तो भाईरस आयो…’ र दोस्रो कोरोना लहरले आम रूपमा पारेको प्रभाव प्रतिमात्र नभएर शहर केन्द्रित युवा जमातको पिडालाई लक्षित गर्दै देशको वर्तमान अवस्थाको चित्रण नै ठानौं ‘म मरे भने त शहरको डेरामा…’ गीति सिर्जना यसै साता सार्वजनिक भएका छन् । युवा साहित्यिक स्रष्टा भीष्मराज फुलारासँग ताजानेपाल डटकमका निम्ति सानुकाजी श्रेष्ठले गर्नुभएको संक्षिप्त कुराकानीः

 हिजो आज केमा ब्यस्त हुनुुहुन्छ ?
– प्रायः म लेखन कार्यमै व्यस्त हुन्छु । हिजो आज चौंथो उपन्यास प्रकाशित गर्ने तयारीमा छु । यसको साथसाथै गीतहरू पनि लेखिरहेको छु । भर्खरै मात्र एउटा गीत बजारमा आएको छ ।

 तपाई के का लागि लेख्नुहुन्छ ?
– सर्वप्रथम त आत्मसन्तुष्टिका लागि लेख्छु । त्यसपछि पाठकहरूको चाहना बमोजिम र जिम्मेवार नागरिकको हैसियतले समाजमा घटेका, आफुले देखेका र भोगेका घटनाक्रमहरूलाई जीवन्त राख्न लेख्छु ।

 तपाईको लेखन कहाँदेखि सुरु भएको थियो, अहिले कहाँ पुग्यो ?
– साहित्यमा रुची भएको त स्कुले जीवन देखि नै हो । त्यतिबेला कथा, कविता, गीत भन्ने वित्तिकै हुरुक्क हुन्थे र लेख्थे पनि, विद्यालयमा भइरहने प्रतियोगितामा भाग लिई प्रथम, द्वितीय पुरस्कारबाट पुरस्कृत पनि भइरहन्थे । यसबाट साहित्यमा लाग्ने प्रेरणा जाग्यो । विशेषतः २०६७ सालमा पहिलो कृति ‘नफापेको मान्छे’ उपन्यास प्रकाशनमा आएपछि साहित्यमा निरन्तरता दिन थाले अहिले पनि निरन्तर रूपमा साहित्यका विभिन्न विद्यामा कलम चलाउँदै आइरहेको छु । साहित्यीक यात्रा जारी नै छ, कहाँ पुगे भन्ने आफुलाई नै थाहा छैन ।

 लेख्नु अघि सृजनाले पार्ने प्रभाव बारे पूर्व अनुमान गर्नु हुन्छ कि हुन्न ?
– लेखन विधा भनेको व्यक्ति, समाज र राष्ट्रलाई केहि न केहि शिक्षा दिने खालको हुनुपर्छ । अतयवः कुनै कुरा सृजना गर्नु अघि यसले समाजमा कतिको असर पार्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । मैले लेखेको सृजनाले पनि कतिको प्रभाव पार्छ भन्ने कुरा ठम्याएर मात्र लेख्ने गर्छु ।

 तपाईको पछिल्लो सार्वजनीक सृजनाहरू ‘कस्तो भाइरस आयो…’, र ‘म मरे भने त शहरको डेरामा…’ ले के सन्देश दिन्छ ?
– ‘कस्तो भाइरस आयो…’ भन्ने सृजनामा संसार कोरोना कहरको माहामारी चपेटामा छ । कोभिड १९ ले विश्वमा पारेको प्रभाव र त्यसबाट जनजीवनलाई पर्न गएको असरलाई चित्रण गर्न खोजेको छु र कोरोना कहरबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुराको सन्देश दिन खोजेको छु । त्यसैगरी ‘म मरे भने त शहरको डेरामा… भन्ने गीतमा गाऊँघरको विकटता र गरिबीलाई पन्छ्याउन सुन्दर भविष्यको कल्पना गरी घरबाट मुग्लान छिरेका र एक्लै शहरको डेरामा संघर्ष गरी बिताइरहेका आम जनसमुदायले भोग्नु परेको पीडालाई उजागर गर्न खोजेको छु । साथै अहिलेको (कोभिड १९) ले कष्टकर जीवन विताउन बाध्य पारेको विषम परिस्थितको चित्रण गर्न खोजेको छु ।

 तपाईको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?
– मैले लेख्ने प्रायः जसो सामाजिक यथार्थवाद र मानवीय भोगाइको विषय वस्तुमा उठान गरी लेख्ने भएकोले कतिबेला कुन कुरा लेख्ने ठ्याक्कै थाहा हुँदैन । त्यसैले मेरो लेखन प्रायजसो आकस्मिक नै हुन्छ ।

 ‘टुहुरो कुण्डली’ उपन्यासले राम्रै चर्चा पाएको थियो, अब पाठकको लागि के पस्कदै हुनुहुन्छ ?
– अहिले म अर्को नयाँ उपन्यासको सृजनामा तत्लीन छु, चाँडै पाठक माझ पस्किने तयारीमा लागि रहेको छु ।

 आफुलाई कतिको अब्बल साहित्कार मान्नु हुन्छ तपाईं ?
– साहित्य भनेको त एउटा दृष्टिकोण हो, यसको क्षेत्र विशाल हुन्छ । विशाल साहित्यीक सागरमा जोकोही पनि तैरिन खोज्छ तर सफल भइदैन । त्यसैले साहित्यमा को कति अब्बल छ भन्ने कुरा मान्यता राख्दैन र म पनि अब्बल साहित्यकारको दर्जामा पर्दैन ।

 तपाईलाई औधि मनपर्ने साहित्यकारहरू मध्येका को को हुन् ?
– मलाई पुराना पुस्ताका प्राय सबै साहित्यकाहरू मन पर्छन । जसमा औधि मनपर्ने भानुभक्त आचार्य, मोतीराम भट्ट, बालकृष्ण सम, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भूपी सेरचन, पारिजात, भीमनीधि तिवारी, माधव घिमिरे, सत्यमोहन जोशी, गोपाल प्रसाद रिमाल, जगदिश घिमिरे र नयाँ पुस्ताका झमक घिमिरे, कृष्ण धारावासी, खगेन्द्र सँग्रौला, रमेश विकल आदि ।

 पछिल्लो पुस्ताले साहित्यीक कृतिमा रुचि नदेखाउनुको कारण के हो ?
– समय गतिशील हुन्छ, समयसँगै मूल्य र मान्यता पनि बदलिरहन्छन् । आजका नयाँ पुस्ता इलेक्कट्रोनिक्स टेक्नोलोजी तर्फ आकर्षित भइरहेको पाइन्छ । त्यसैको उपज होला सायद साहित्यीक कृतिमा कम रुचि भएको ।