Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबार जल्दा सेनाको घेराउमा त्यही थिए प्रचण्ड

काठमाडौं । नेताहरुको अहंकार र दम्बले मुलुक खरानीमा परिणत भएको छ । अझै नेताहरुको चेतना फर्किएको छैन । आफ्नो विकल्प नदेख्ने नेताहरुकै कारण आज मुलुकमा निराशा बढ्नेक्रम जारी नै छ । भदौ २४ गते ब्यारेक पसेका नेताहरू अहिले डेरा खोज्दै फर्किसकेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी सुरु भएपछि सबैभन्दा पहिले ब्यारेक पुगेका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। २३ गते जेनजी प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा २३ जनाको मृत्यु भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब थियो। सत्ता साझेदार कांग्रेसभित्रैबाट पनि ओलीलाई राजीनामा दिन, नभए समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन दोस्रो तहका नेताहरूले माग गरिरहेका थिए। तर ओली राजीनामा दिन र देउवा समर्थन फिर्ता लिन तयार नहुँदा भोलिपल्टको अवस्था बिहानैदेखि खराब बन्यो। बिहानैबाट चोकचोकमा निस्किएर जेनजी लगायतका आन्दोलनकारीहरूले प्रदर्शन सुरु गरेका थिए। प्रशासनले चक्रपथभित्र कर्फ्यु आदेश जारी गरे पनि त्यसको कुनै परवाह आन्दोलनकारीलाई थिएन। भदौ २४ गते बिहानैबाट तोडफोड र आगजनी सुरु भयो। सिंहदरबारमा विपक्षी दलहरू भेला भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाको घर तोडफोड गरिएको र देउवा दम्पतीलाई कुटपिट गरिएको सूचना आइपुग्यो। सामाजिक सञ्जालमा भिडिओ लाइभहरू आउन थाले। त्यो हेरेपछि प्रचण्ड सिंहदरबारमा आफैले राखेको बैठक छाडेर हिँडे। छोरी गंगा दाहालसहित प्रचण्ड सिंहदरबारभित्रै रहेको नेपाली सेनाको नरसिंह दल गणमा पसे। बाबुछोरी त्यहीँ बसे। उनीहरू सिंहदरबारभित्रै नरसिंह दल गणमा हुँदा दिउँसो आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरे। प्रधानमन्त्री कार्यालयसहितका मन्त्रालयहरू जलिरहँदा प्रचण्ड त्यहीँ भएपनि केही गर्न सक्ने अवस्था थिएन। नेपाली सेनाको ब्यारेकमा कुनै सुरक्षा चुनौती नदेखिएपछि प्रचण्डलाई सिंहदरबारकै ब्यारेकमा राखिएको थियो। आन्दोलन साम्य भएपछि प्रचण्ड शुक्रबार छुट्टै निवासको व्यवस्था गरेर बाहिरिएका थिए। उनले नरसिंह दल गणको ब्यारेकमै तीन रात बिताए। खुमलटारस्थित प्रचण्डको निवास र सुनकोठीस्थित गंगा दाहालको घरमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। अहिले उनीहरू अर्कै ठाउँमा डेरा खोजेर सरेका छन्। माओवादीको पार्टी कार्यालय र नारायणकाजी श्रेष्ठ, वर्षमान पुनसहित अन्य धेरै नेताका घर डेरामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। आगजनी सुरु भएपछि माओवादीका अन्य केही नेतालाई पनि नेपाली सेनाले सुरक्षित स्थानमा राखेको थियो। आन्दोलनकारीले चाक्सीबारीस्थित घरमा आगजनी गर्न लागेपछि निवर्तमान उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भने नारायणहिटी लगिएको थियो। नारायणहिटीमा नेपाली सेनाको उपत्यका पृतनासँगै विभिन्न गणहरू छन्। उनलाई घरनजिकै पर्ने भएकाले त्यहाँ लगिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। यस्तै नारायणहिटीस्थित ब्यारेकमै अन्य केही नेतालाई पनि राखिएको थियो। तर उनीहरूले एकअर्कासँग भने देखभेट गर्न पाएका थिएनन्। आफू बसेको ब्यारेकमा कोको थिए भन्ने नेताहरूलाई अहिले पनि जानकारी छैन। डेराको बन्दोबस्त गरेर अहिले सेनाको ब्यारेकमा रहेका सबै नेता निस्किसकेका छन्। तीमध्ये अधिकांश शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा शीतलनिवास पुगेका थिए। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने छाउनीस्थित सैनिक ब्यारेकमा थिए। डल्लुस्थित घरमा प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि सेना गाडी लिएर झलनाथ खनाललाई लिन पुगेको थियो। तर उनकी पत्नी रविलक्ष्मी चित्रकार घरमै आगजनीमा परिन्। आगजनीमा घाइते भएकी उनको एउटा हात काटिएको छ। सुरुमा सैनिक अस्पताल छाउनीमा उपचार गराएर उनलाई कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। पत्नी जलेर घाइते भएपछि खनाल त्यसैदिन ब्यारेकबाट निस्किएका थिए। सबैभन्दा पहिले कुटिएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भने सबैभन्दा अन्तिममा उद्धार गरिएको थियो त्यो पनि घाइते अवस्थामा। शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा कुटिएपछि नै अन्य नेताको उद्धार थालिएको थियो। देउवा दम्पत्तिमाथि कुटपिट भएपछि शिवपुरीबाट नेपाली सेनाको टोली पुग्यो। तर टोली देउवाको घरमा जान सकेन। भित्रबाट उनको सुरक्षामा नियमित खटिएका केही प्रहरीले मात्रै जोगाएका थिए। कम्पाउन्डबाट बाहिर ल्याएपछि नेपाली सेना र सशस्त्र प्रहरी थपियो। तर घाइते देउवा दम्पतीलाई लिन गएको सेनाको हेलिकोप्टर आन्दोलनकारीले बस्न दिएनन्। लामो समय खाली जग्गामा आन्दोलनकारीले प्रहार गरेका ढुंगा जस्ताले छेक्दै सुरक्षाकर्मीले उनीहरूलाई जोगाएका थिए। अपरान्ह गाडीमा उनीहरूको उद्धार गरेर अस्पताल लगिएको थियो। देउवा दम्पतीलाई लिन गएको एम्बुलेन्स पनि आन्दोलनकारीको घेराबन्दीमा परेको थियो।
सेनाको भैरवनाथ गण भने मन्त्री निवास बन्यो। अधिकांश मन्त्रीलाई सेनाले यही ब्यारेकमा राखेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल पनि २४ गते राति यही ब्यारेकमा बसे। भोलिपल्ट भदौ २५ गतेबाट नयाँ सरकारको संवाद अगाडि बढेपछि राष्ट्रपतिलाई शीतलनिवास ल्याइएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भने प्रदर्शनकारीले बालुवाटार घेरिसक्दा पनि राजीनामा दिन तयार थिएनन्। अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरूसँग उनले अन्तिम सल्लाह गरेर दिउँसो मात्रै राजीनामा दिए। राजीनामा दिएलगत्तै उनलाई लिन नेपाली सेनाको हेलिकप्टर पुग्यो। सेनाको हेलिकोप्टर पुगेपछि प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य र विष्णु रिमाल हेलिकोप्टरमा गए। तर बालुवाटारमै ओलीको राजीनामाको साक्षी बनेका एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेता भने अभर परे। बालुवाटार प्रधानमन्त्री निवासको चारैतिर आन्दोलनकारीको घेरा र तोडफोड। सुरक्षाकर्मीको पनि भागाभाग। त्यसपछि उनीहरू सभामुख निवासमा पसे। त्यहाँ पनि आन्दोलनकारीले सन्तोषले बस्न दिएनन्। काठमाडौँको आकाश धुँवाले ढाकेको थियो। संसद् भवन जलिसकेको थियो। जताततै नेताका घर तोडफोड र आगजनी भइरहेका थिए। सभामुख निवासमा पनि उनीहरू बस्न सुरक्षित भएनन्। केहिबेरको अलमलपछि सभामुख देवराज घिमिरे, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित उनीहरू प्रहरीकै गाडीमा प्रहरी प्रधान कार्यालय नक्साल पुगे। नक्सालमा पनि उत्तिकै तनाव देखिएको थियो। २३ गते प्रहरीको गोलीबाट १९ जना मारिएपछि २४ गते आन्दोलनकारीको निसानामा प्रहरी र सत्तासीन दलका नेताहरू परेका थिए। प्रहरीलाई आफ्नै मुख्यालय जोगाउन हम्मेहम्मे परिरहेको थियो। तर सभामुख र उपप्रधान तथा अर्थमन्त्री प्रहरी प्रधान कार्यालय प्रवेश गरेपछि एक जना एआईजी उनीहरूसँग बसे। बाँकी सुरक्षा टोली हेडक्वार्टर जोगाउन खटिएका थिए। दिनभर प्रहरी प्रधान कार्यालयमा रहेका सभामुख, उपप्रधानमन्त्री सहितको टोलीलाई लिन राति सेनाको गाडी पुगेको थियो। त्यसअघि प्रहरी प्रधान कार्यालयमै हुँदा प्रदर्शनकारीले आफूलाई कुटेको भन्ने भाइरल भिडिओ अर्थमन्त्री विष्णु पौडेलले हेरे। कुटिएका व्यक्ति भने अर्थमन्त्री नभई बानेश्वर वृत्तका प्रहरी थिए। धेरैजसो मन्त्री र नेताहरू भैरवनाथ गणमा थिए, बाँकी नेताहरू जो जहाँबाट उद्धार गरिएको थियो, नजिकैको ब्यारेकमा राखिएको थियो। बाहिर हल्ला भने प्रधानमन्त्री, सबै मन्त्री र नेतालाई शिवपुरी ब्यारेकमा लगिएको गरियो। फागुन २१ गते निर्वाचन गर्ने गरी सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै माहोल सम्हालिँदै गएको छ। सेनाको सुरक्षा घेरामा पुगेका दलका नेताहरू पनि बाहिर निस्केर पार्टी गतिविधिमा सक्रिय हुन थालेका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट भक्तपुरको गुन्डु सरेका छन्। संविधान दिवसको आवसरमा शुक्रबार एमालेले च्यासलमा कार्यक्रम गरे पनि ओली सहभागी भएनन्। प्रचण्ड पार्टी गतिविधिमा सक्रिय छन्। देउवा दम्पती अस्पतालमै हुँदा कांग्रेसका अरु नेता पार्टी कार्यलयमा उपस्थित भएर सक्रिय भइसकेका छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल