Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिआइबीमा धनराजले भने, तिर्नु पर्ने भए तिर्छु

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् । सिआइबी स्रोतका अनुसार उनले सबै कारोबार पत्नीले गरेको र उनीसँग सम्बन्ध बिच्छेद भएपछि कुनै सम्पर्क नभएको कुरा पुनः दोहोर्याए । ‘अंश नलिने, छोराछोरी भेट्न पाउने भन्ने सहमति भएकोले उनलाई मैले केही पनि सोधेको छैन’, अघिल्लो बयानको कुरा दोहोर्याउँदै गुरुङले भनेको सिआइबी स्रोतले जनायो । पत्नीसँग सम्बन्ध बिच्छेदपछि पनि रोक्का रहेको घर धितोमा राखेर १२ करोड रुपैयाँ ऋण लिएको र त्यसको दायित्व बढेर अहिले ८४ करोड पुगेको बारे सिआइबीले सोध्दा उनले इन्कारी बयान दिए । स्रोतका अनुसार धनराजले ‘मलाई केही थाहा छैन, जाने, बुझेको र तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु’ भनी बयान दिएका छन् । अघिल्लो बयान कागज अपुरो रहेको भनी सरकारी वकिलले सुझाव दिएपछि उनलाई आज बयानका निम्ति बोलाइएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । मितेरी सहकारी ठगीमा १२ करोड हिनामिना भएको भनी सिआइबीमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी गुरुङपत्नी ज्योति, सहकारीका सचिव बोधविक्रम थापासहित पाँचका विरुद्ध उजुरी परेको थियो । अनुसन्धानको हदम्याद नाघ्न लागेका कारण छुटपुट बयान जारी रहेको प्रवक्ता बोगटीले बताए ।


सम्बन्धित समाचार