Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सिन्धुली । तीनपाटन गाउँपालिका–१ बेलघारीमा रहेको झोलुंगे पुलको करिब सय मिटरनजिकै २१ कात्तिकमा एक महिलाको शव भेटियो । शव थियो तीनपाटन गाउँपालिका–२ पहिरेकी ४० वर्षीया छत्रकुमारी कार्की थापा को ।
घाँस काट्न गएका स्थानीयले नदी संरक्षणका लागि गरिएको वृक्षरोपणका कारण जंगलजस्तो बनेको चँदाहा नदीनजिकैको सो ठाउँमा महिलाको शव क्षतविक्षत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरे । विडम्बना त के भने करिब ३ सय मिटर नजिक रहेको इलाका प्रहरी कार्यालय बेलघारीले सो घटना महिला हराएको पाँचौं दिनसम्म सुइँको समेत पाएन । जुन घटना अहिले प्रहरीका लागि नै चुनौती बनिरहेको छ ।
प्रहरीले दाहिने हातका तीनवटा औंला काटिएको, पाठेघर बाहिर निकालिएको, घाँटीमा सलले कस्सिएको, सोही सलले मुख छोपिएको, एउटा स्तन काटिएको अवस्थामा छत्रकुमारीको शव भेटिएपछि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अपराध अनुसन्धानको टिम नै खटियो । अनुसन्धान टिमले १७ कात्तिकदेखि हराएकी छत्रकुमारीको हत्या सोही दिन दिउँसो १ देखि २ बजेको बीचमा नै भएको पत्ता लगाएको छ । मध्य दिउँसो नै प्रहरीकै इलाकामा हत्या हुनुले स्थानीयमा भने त्रास फैलिएको छ ।
प्रहरीले सो घटनामा संलग्न रहेका मुख्य अभियुक्त एक जनालाई पक्राउ गरेको छ । अनुसन्धानमा प्रभाव पर्ने भन्दै प्रहरीले उनको पहिचान खुलाउन चाहेको छैन । उनलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अन्य दुई जना फरार छन् । एकै परिवारका तीन जना मिलेर महिलाको हत्या गरेको खुलेको छ । श्रीमान्, श्रीमती र भान्जा गरी तीन जनाले सो हत्या गरेको प्रहरीले पहिचान गरेको छ ।
हत्यामा एक महिला, दुई जना पुरुष गरी तीन जनाको संलग्नता भएको र अनुसन्धान नसकिएकाले र फरार अभियुक्त भाग्नसक्ने भन्दै प्रहरीले सूचना दिन इन्कार गरेको छ । तर, हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको विषय भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले भने, हत्याको रहस्यनजिक प्रहरी पुगेको छ, अनुसन्धानमा प्रभाव पर्नसक्छ, अनुसन्धान सकिएपछि सार्वजनिक गर्छौं ।
महिलाको शवको पोस्टमार्टम २१ कात्तिकमै सिन्धुली अस्पतालमा गरिएको थियो । पोस्टमार्टमपछि उनको अन्तिम संस्कार गरिसकिएको स्थानीयले जानकारी दिएका छन् । घटनाका समयमा मृतकका श्रीमान्, सासू, ससुरा भारतमा बस्दै आएका थिए । उनी तीन छोराहरूसँगै घरमा बस्दै आएकी थिइन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल