Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले चुनावका क्रममा गरेका वाचाअनुसार देशभरका वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
काठमाडौँका नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउने तयारी भएपछि चौतर्फी आलोचना बढेको छ। बल प्रयोग गरेर हटाउन नहुने आवाज उठ्न थालेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार, उम्मेदवारका रूपमा झापामा गरिएको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेखित प्रतिबद्धता तथा ‘सरकारका १०० प्राथमिक काम’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी योजनाहरू अझै पनि प्राथमिकतामा छन्। ती सबै वाचा पूरा गर्न सरकार आन्तरिक रूपमा तयारीमा रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर उचित प्रक्रिया पूरा गर्दै देशभरका सुकुम्बासीलाई सकेसम्म चाँडो जग्गा वितरण गरिने स्पष्ट पारेका छन्।
उनले काठमाडौँका नदी किनारमा बसोबास गर्ने मानिसहरू प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेको उल्लेख गर्दै यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। वर्षेनी दोहोरिने विपद्लाई बेवास्ता गर्नुको सट्टा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित गर्नु नै उचित हुने उनको भनाइ छ।
यस्तै, नदी किनारका अव्यवस्थित बस्तीहरूले ढल निकास प्रणालीमा अवरोध पुर्याउँदा उपत्यकाको वातावरण नै प्रदूषित भइरहेको उनले बताए। त्यसैले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका जोखिमपूर्ण बस्तीलाई मानवीय दृष्टिकोण अपनाउँदै, बल प्रयोग नगरी सुरक्षित स्थानमा सार्ने योजना बनाइएको उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहका अनुसार, काठमाडौँका नदी किनारका बस्तीहरू र देशभरका अन्य सुकुम्बासीको अवस्था फरक–फरक रहेको छ। देशभर रहेका वास्तविक सुकुम्बासीका लागि आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गरिने उनले पुनः आश्वासन दिएका छन्।
वर्षौँदेखि समाधान हुन नसकेको यो समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल