Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । चाडबाडमा सुनको माग बढ्ने देखेर सरकारले सुनको आयात कोटा बढाउने निर्णय गरेको छ । मुद्रा सञ्चिती घटेपछि आयातमा कडाइ गरेको सरकारले दुई वर्षपछि सुन आयातको कोटा बढाउने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले दैनिक आयात कोटा १० किलोबाट २० किलो बनाएको छ । गत साता बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले सुनको आयात कोटा बढाउने निर्णय गरिसकेको स्रोतले बताएको छ । यद्यपि माइन्युटको प्रक्रिया चलिरहेकाले एक–दुई दिनमै परिपत्र जारी हुने भनिएको छ । ‘कोटा बढाउने सन्दर्भमा निर्णय भइसकेको छ । परिपत्र जारी भएपछि मात्रै निर्णय कार्यान्वयनमा आउँछ, स्रोतले भन्यो । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो सुन आयात गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले परिपत्र जारी गरेलगत्तै वाणिज्य बैंकले २० किलो आयात गर्न पाउँछन् । चाडबाडमा माग बढ्ने हुँदा व्यवसायीले कोटा बढाउन माग गर्दै ‘लबिइङ’ गरेका थिए । उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकका उच्च अधिकारी र वाणिज्य विभागका उच्च पदाधिकारीसमक्ष ‘लबिइङ’ गरिरहेका थिए । भदौ १५ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले मन्त्रालयका तर्फबाट कोटा बढाउन सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले राष्ट्र बैंकमा पत्र पठाएको थियो । पछिल्लो समय राष्ट्र बैंकले पनि सुन आयात कोटा बढाउने निर्णय गरेको हो । कोभिडका कारण विश्व अर्थतन्त्र समस्यामा पर्यो, नेपाल पनि अछुतो रहेन । रेमिट्यान्स घट्यो, निर्यात बढ्न सकेन, आयात बढ्यो, स्रोतले भन्यो, मुद्रा सञ्चिती घटेपछि विलासिताको वस्तुका रूपमा चिनिने सुन आयातमा कडाइ भयो । अहिले सञ्चितीको अवस्था सुधारोन्मुख छ । त्यही भएर कोटा बढाउने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार मुद्रा सञ्चिती बढेर १५ खर्ब ७३ अर्ब पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले पनि सुनको आयात कोटा बढाउने निर्णय भएको जानकारी दिए । राष्ट्र बैंकले असोज पहिलो साता नै निर्णय गरेको जानकारी पाएका छौं, आजभोलि नै परिपत्र गर्ने सुनेका छौं, उनले भने । कोभिडकालमै सुनको दैनिक आयात कोटा २५ किलो थियो । त्यसपछि घटाएर २० किलो पुर्याइयो । फेरि कोटा पुनः घटाएर १५ किलोमा झारियो । मुद्रा सञ्चितीको अवस्था नाजुक हुँदै गर्दा आयात कोटा १० किलोमा सीमित भएको थियो । चाडबाड नजिकिँदै गर्दा सुनको माग बढ्न सक्छ । अहिले दैनिक १५ किलो रहेकामा माग अझै बढ्ने क्रममा छ, अध्यक्ष शाक्यले भने, दसैंमा दैनिक कोटा ३० देखि ३५ किलो पुग्ने अनुमान गरेका छौं । महासंघले सुनको माग बढ्ने बताइरहँदा केही व्यवसायी भने मन्दीका कारण सुस्ताएको बजारमा उभार नआएको बताउँछन् । विगतमा दसैंमा जसरी तीजमा पनि गहना बिक्री हुने गर्थ्यो । तर, यसपालिको तीजमा खासै व्यापार बढेन । ‘गत वर्षको तीजका बेला दिनको २० देखि २५ किलोसम्म सुन बिक्री भएको थियो । तर, अहिले १० किलो नै फालाफाल देखियो, एक गहना व्यवसायीले भने, ‘व्यापारको अवस्था हेर्दा आर्थिक मन्दी चुलिएकै छ । यसको असर दसैंतिहारसम्मै हुने आकलन गरेका छौं । महासंघका अनुसार सोमबार प्रतितोला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ छ । अमेरिका र चीनबीच व्यापार युद्धले मूल्य घट्ने सम्भावना छैन । रुस र युक्रेनबीचको युद्धले पनि थप प्रभाव पारिरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारको मूल्य विश्लेषण गर्दा सुनको मूल्य घट्ने छाँट छैन । यही अवस्था रहे चाडबाड सुस्त हुने देखिन्छ, ती व्यवसायीले भने, सरकारले कोटा बढाए पनि सुन कमै बिक्ने जस्तो देखिन्छ । वाणिज्य बैंकहरूले मुख्यतः दुबई, हङकङ, स्विट्जरल्यान्ड, सिगापुरलगायत मुलुकबाट आयात गरी बिक्री गर्दै आएका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल