Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको टपले गयो बालिकाको ज्यान, समातिइनु १९ वर्षीया युवती

काठमाडौँ । सानैदेखि लामो हात गर्ने बानी परेकी एक युवतीले सुनको टपका लागि रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या गरेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार ९२१ मंसिर० देखि हराएकी थिइन् ।

सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लागि प्रहरीमा निवेदन दिएका थिए । एक जना अपरिचित महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए ।

परिवारको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको सुवेदीले बताए । बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो ।

बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ । सपनाले प्रहरीसमक्ष सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् । बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको पाइएको डीएसपी सुवेदीले बताए ।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएकी छिन् । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि तीनपटकसम्म सुन चोरीसम्बन्धी मुद्दामा पक्राउ परेर छुट्दै आएकी थिइन् सपना ।

एक वर्ष बाल सुधारगृह भक्तपुरमासमेत बसेर सपना बाहिर निस्केकी हुन् । अहिले पुनः त्यस्तै प्रकृतिका घटना दोहोरिएको छ । दुईपटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरी मिलापत्र गरी सपनालाई छाडिएको थियो । तेस्रोपटकको समयमा उनी १७ वर्षकी थिइन् सोही समयमा एक वर्ष बाल सुधारगृहमा बसेकी थिइन् ।


सम्बन्धित समाचार