Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउ किन आकाशियो ?

काठमाडौं । सुनको भाउ आकासिएर सर्वसाधारणको पहुँच बाहिर पुगेको छ । अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले दोब्बरले वृद्धि भएको छ । नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य चालु आर्थिक वर्षको बैशाखसम्म आइपुग्दा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसरी हेर्दा पाँच वर्षको अन्तरालमा सुनको मूल्य ७८ हजारले वृद्धि भएको देखिन्छ । आव २०७६ मा प्रतितोला ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ०७७ मा एकैपटक तोलामा ३१ हजार पाँच सय रुपैयाँले वृद्धि भएर तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । आव २०७८ सालमा भने सुनको मूल्यमा सामान्य कमि आएर ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, २०७९ सालमा तोलामा आठ हजार तीन सय रुपैयाँले उकालो लागेको सुनको मूल्य २०८० वैशाख २१ सम्म आइपुग्दा तोलामा १३ हजार दुई सय रुपैयाँले वृद्धि भएर १ लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार हुन पुगेको थियो । हिजो बैशाख २ गतेसम्म आइपुग्दा अघिल्लो दिनको तुलनामा केही घटेर सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ । पछिल्लो केही वर्षदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आगामी दिनमा थप बढ्ने सङ्केत देखिएको व्यवसायीहरुले बताएका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो । अहिले फेरि नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । तथ्यांकअनुसार साउनदेखि माघसम्मको सात महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको कुल १५ सय किलोग्राम सुन आयात भएको देखिन्छ । एक किलोग्राममा भन्सार शुल्क करिब १२ लाख रुपैयाँ तिर्नुपर्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पुस मसान्तसम्मको विवरणमा चाहिँ सुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको देखिन्छ । सामान्यतया सुन सबैले प्रयोग गर्न रुचाउने धातु हो । यसको मूल्य निरन्तर उकालो लाग्नुमा २०७६ सालमा फैलिएको कारोना महामारी र रुस र युक्रेनको युद्ध रहेको व्यवसायीले बताउँदै आइरहेका छन् । त्यसयता सुनको भाउ लगातार बढ्दै गइरहेको छ । अहिले चीनले तीव्र रुपमा सुनको माग गरेका कारण पनि सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सुनको मूल्य अमेरिकी डलरको भाउसँग पनि सम्बन्धित रहँदै आएको देखिन्छ । यसले गर्दा विश्वमा अमेरिकी डलर कमजोर हुँदै गएको कारण पनि सुनको मूल्यमा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरुले तर्क गरेका छन् । केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको जानकारहरुको भनाइ छ । एक अनुसन्धानले पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा चलेको द्वन्द्व र अनिश्चितताले सुनको मूल्यमा अझै वृद्धि हुने देखाएको छ । यसबाहेक बेरेनबर्गका विश्लेषकहरूले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावित विजयले पनि सुनको मूल्य वृद्धिको सम्भावनालाई बढावा दिने बताएका छन् ।